Prakash Adhikari March 3, 2024

 

काठमाडौं, २० फागुन । आजबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल सकिँदै छ।

६ वर्षे कार्यकाल निर्धारण भएका २० सांसदको कार्यकाल आज रातिबाट सकिन लागेको हो।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने तर हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधी समाप्त भई नयाँ निर्वाचन हुने व्यवस्था छ।

 

आजबाट पदावधि सकिनेमा नेकपा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन्।

आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ। राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिसमा मनोनीत हुने एक जनाको चयन हुन भने बाँकी छ । नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण सोमबार हुने भएको छ।

यी हुन पदावधि सकिने सांसदहरुमा नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दुकडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई हुनुहुन्छ ।

त्यस्तै नेपाली कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पनि पदावधि आजैबाट समाप्त हुँदैछ । माओवादी केन्द्रका तर्फबाट निर्वाचित विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरीको पदावधि पनि आजै सकिदै छ ।

एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि पनि सकिदैछ भने जसपाबाट निर्वाीचत प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै समाप्त हुँदैछ । तात्कालीन प्रधानमन्त्री के.पी.ओलीको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौड्यालको पदावधि पनि आजै सकिदै छ ।

Share Now