Prakash Adhikari May 11, 2018

वाशिंटन(संयुक्त राज्य अमेरिका),२८ बैशाख(बीबीसी) । अमेरिकाले इरानका ६ व्यक्ति र तीन कम्पनी त्यहाँको शक्तिशाली रिभोलुशनरी गार्डसँग सम्बन्धित रहेको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाएको छ।

अर्थमन्त्री स्टिभन मनुसिनले उक्त समूहको बदनियतपूर्ण गतिविधिलाई लाखौं डलर उपलब्ध गराउने व्यक्ति र कम्पनीमाथि त्यस्तो प्रतिबन्ध लगाइएको बताए।

इरानको केन्द्रिय ब्याङ्कले पनि उक्त समूहलाई अमेरिकी डलरको जोहो गर्न मद्दत गरेको आरोप लगाइएको छ।

अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाइएका व्यक्तिको नाम उल्लेख गरेको छैन तर ती सबै इरानकै नागरिक रहेको जनाएको छ।

‘गल्ती’

यो प्रतिबन्धसँगै अब अमेरिकाका मानिस वा संस्थाले इरानका ती व्यक्ति वा संस्थासँग व्यापार गर्न पाउने छैनन्।

इरानी रिभोलुशनरी गार्ड सन् १९७९ मा गठन गरिएको थियो।

उसले इरानको इश्लामवादी पद्धतिको बचाउ गर्छ र यो देशको राजनीतिक, आर्थिक र सैन्य फौज पनि हो।

अमेरिकाको प्रतिबन्ध खासगरी देशबाहिर सञ्चालन हुने कुड्स फौजलाई लक्षित गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त समूहलाई भ्रष्ट आतंकवादी फौज भनि व्याख्या गरेका छन् भने गत अक्टोबरमा उनले उनीहरूमाथि प्रतिबन्ध लगाएका थिए।

इरानको पारमाणविक सम्झौताबाट अलग भएको दुई दिनपछि नै यो पछिल्लो प्रतिबन्ध घोषणा गरिएको छ।

राष्ट्रपति ट्रम्पले तेहरानमा दबाब बढाउन आह्वान समेत गरेका छन्।

सम्झौता परित्याग गर्ने ट्रम्पको निर्णयलाई इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खामेनीले गल्ती भनि व्याख्या गरेका छन्।

Share Now

Leave a comment.