मुक्तिनाथ(मुस्ताङ), २९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हिमालपारिको जिल्ला मुस्ताङ पुगेर प्रसिद्ध धाम मुक्तिनाथको दर्शन गर्ने भनिएको लामो समयदेखिको धोको शनिवार बिहान पूरा भएको छ।
नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुरधाममा जानकी दर्शनबाट सुरु गरेका प्रधानमन्त्री मोदी बिहान सबेरै मुक्तिनाथ पुगेका हुन्।
मोदी स्वयंले एक पथिकको हैसियतमा नेपालमा आएको बताए पनि नेपालमा कहाँ-कहाँ घुमेको बताएका छैनन्।
महत्त्व
यसपटक प्रधानमन्त्रीका रुपमा नभई तीर्थयात्रीका रुपमा नेपाल भ्रमणमा आएको उनको कथनले तीर्थाटनलाई कति महत्त्व दिएका रहेछन् भन्ने छर्लङ्ग हुन्छ।
मुक्तिनाथ मन्दिर नजिकै हेलिकोप्टरबाट अवतरण गरेर केही मिनेटको दूरीमा रहेको मुक्तिनाथ मन्दिर पुगेर मोदीले भग्वान् श्रीनारायण श्रीदेवी र भूदेवीको पुजाअर्चना गरे।
भगवान श्रीनारायण शालिग्राम शिलामा अवस्थित छन् भन्ने विश्वास गरिन्छ।
कालीगण्डकी र मुक्तिक्षेत्रमा शालिग्राम पाइन्छ।
हिन्दु र बौद्ध दुवै धर्मको समान आस्थाको केन्द्रका रुपमा स्थापित मुक्ति क्षेत्रलाई तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्ये एकका रुपमा मानिन्छ।
बौद्ध भिक्षु पद्मसंभव बौद्ध धर्म प्रचारका लागि मुक्तिनाथकै बाटो भएर तिब्बत गएका थिए।
भारतको उत्तर प्रदेशमा जन्मेका घनश्याम पाण्डे मुक्तिनाथ आएर तपस्या गरेपछि स्वामीनारायण नामले प्रसिद्ध भएको बताइन्छ।
भारतका प्रधानमन्त्री मोदीको स्वामीनारायणप्रति आस्था भएका कारण उनको मुक्तिनाथ पुगेर दर्शन गर्ने पहिलेदेखिकै इच्छा रहेको पनि बताइने गरेको छ।
प्रभाव
स्वामीनारायण सम्प्रदायको खासगरी भारतको गुजरात र देश देशान्तरमा पनि प्रभाव छ।
वैष्णव सम्प्रदायले पनि मुक्तिनाथलाई एउटा पवित्र धाम मान्ने हुँदा धेरै भारतीय मुक्तिनाथ आउँछन् र मनकामना पूरा हुने विश्वास गर्छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथ मन्दिरभित्रै गएर पूजा गर्ने व्यवस्था मिलाइएको थियो जहाँ हिन्दू पुजारी कृष्णप्रसाद सुवेदी र आनी कर्साङ टासीले विशेष पूजाको व्यवस्था मिलाएका थिए।
मन्दिरमा करिब २५ मिनेट मोदीले पूजा आराधना गरे।
सामान्यत: बैशाखको अन्तिम सप्ताहमा हिउँ नपर्ने मुक्तिक्षेत्र र वरपरका डाँडाकाँडामा बुधवार हिउँ परे पनि शनिवारको मौसम भने खुलेको थियो।
भारतका प्रधानमन्त्री मोदीलाई संघीय सरकारका पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाले स्वागत गरेका थिए।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ क्षेत्रको धार्मिक यात्रापछि भारतीय तीर्थयात्रीको संख्यामा पर्याप्त बढोत्तरी हुनेमा मुस्ताङका पर्यटन व्यवसायी आशावादी देखिएका छन् ।
बीबीसी