Prakash Adhikari March 20, 2024

मिशेल रोबर्ट्स/डिजिटल स्वास्थ्य सम्पादक

काठमाडौं, ७ चैत्र । वैज्ञानिकहरूले एचाईभी सङ्क्रमित कोषहरूबाट उक्त भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन्।

सङ्क्रमित कोषलाई एचआईभीबाट मुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका हुन्।

नोबेल पुरस्कार हात पारेको उक्त विधिले सूक्ष्म तहमा कैँचीले जसरी काम गर्छ।

जीन सम्पादन गर्दा डीएनए काट्न मिल्छ अनि डीएनएमा भएको विकृत भागलाई हटाउन वा निष्क्रिय पार्न सकिन्छ।

पूरा शरीरलाई एचआईभीमुक्त पार्न सकिने आशामा वैज्ञानिकहरू छन्। यद्यपि त्यसो गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी छ।

अहिले उपलब्ध औषधिहरूले एचआईभीको वृद्धिलाई रोकिदिन सक्छन्। तर तिनले उक्त भाइरसलाई निमिट्यान्न पार्न सक्दैनन्।

डीएनए सम्पादन गर्ने क्रिस्पर विधि विकास गर्ने दुई वैज्ञानिकलाई सन् २०२० मा नोबेल पुरस्कार दिइएको थियो

धेरै काम गर्न बाँकी

यूनिभर्सिटी अफ एम्स्टर्ड्यामका वैज्ञानिकहरूले यसबारे अनुसन्धान गरेका हुन्। उक्त टोलीले यो साता आयोजित एउटा मेडिकल सम्मेलनमा प्रारम्भिक नतिजाहरूको सारांश प्रस्तुत गर्दै आफ्नो शोध केवल ूथालनीू भएको र त्यो तत्काल एचआईभीको उपचार नबन्ने स्पष्ट पारेका छन्।

स्टेम सेल र जीन थेरपीका विज्ञ तथा यूनिभर्सिटी अफ नटिङ्गमका सहप्राध्यापक डा जेम्स डिक्सन पनि त्यसमा सहमत हुनुहुन्छ। उहाँका अनुसार पूरा नतिजाको समेत परीक्षण हुनुपर्छ।

“भविष्यमा उपचारविधि बनाउने हो भने कोषमा गरिने यस्ता परीक्षणको नतिजा पूरै शरीरमा पनि आउँछ भन्ने देखाउने गरी धेरै काम गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एचआईभी भएका मानिसमा प्रभाव पार्न धेरै सुधार आवश्यक हुन्छ।”

निकै चुनौतीपूर्ण

अरू वैज्ञानिकहरूले पनि एचआईभीविरुद्ध क्रिस्पर विधि प्रयोग गर्न खोजेका छन्।

एक्सिजन बायोथेरप्यूटिक्सले आफ्नो परीक्षणमा सहभागी भएका एचआईभी सङ्क्रमित तीन स्वयंसेवकमा ४८ सातापछि कुनै गम्भीर दुष्प्रभाव नदेखिएको बताएको छ।

तर लन्डनस्थित फ्रान्सिस क्रिक इन्स्टिट्यूटमा कार्यरत भाइरसविज्ञ डा जोनाथन स्टोय शरीरमा भएका सबै कोषबाट भाइरस हटाउनु निकै चुनौतीपूर्ण भएको बताउँनुहुन्छ।

“यो उपचारको अफ‍‍ टार्गेट (अवाञ्छित) प्रभावले दीर्घकालीन दुष्प्रभाव निम्त्याउन सक्छ। त्यो चिन्ताको विषय हो”, उहाँले भन्नुभयो, “तसर्थ प्रभावकारी भयो भने पनि क्रिस्परमा आधारित उपचारविधि चलनचल्तीमा आउन निकै वर्ष लाग्न सक्छ।”

एचआईभी बिउँतिने खतरा

एचआईभीले प्रतिरोध प्रणालीका कोषहरूमा सङ्क्रमण गर्छ। सङ्क्रमण गरेपछि उक्त भाइरसले मानिसको शरीरका ती कोषको दोहन गर्दै आफ्नो सङ्ख्या बढाउँछ।

प्रभावकारी मानिएको उपचारविधि प्रयोग गर्दा केही भाइरस निष्क्रिय अवस्थामा पुग्छन्। नयाँ भाइरस बनाउन नसके पनि तिनमा एचआईको डीएनए अर्थात् आनुवंशिक तत्त्व बाँकी हुन्छ।

एचआईभी सङ्क्रमण भएका अधिकांश मानिसले आजीवन एन्टिरेट्रोभाइरल औषधि सेवन गर्नुपर्छ। औषधि सेवन गर्न छोडेको खण्डमा निष्क्रिय भएका भाइरसहरू फेरि बिउँतिन र समस्या गराउन सक्छन्।

क्यान्सरको सघन उपचारविधि प्रयोग गर्दा सङ्क्रमित कोषहरू मरेका र एचआईभी सङ्क्रमण भएका केही मानिसहरू निको भएको पाइएको छ। तर ती घटनाहरू दुर्लभ छन्।

एचआईभीको मात्र उपचार गर्न त्यो विधि सिफारिस गरिँदैन।

Share Now