Prakash Adhikari March 20, 2024

काठमाडौं, ७ चैत्र । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०७ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस वर्ष विश्व वित्तीय सप्ताहको अवसरमा क्यापिटलले बिभिन्न कार्यक्रमहरु गरि संचालन गर्ने क्रममा आज सो कार्यक्रम सम्पन्न गरेको हो ।

ग्लोबल मनी वीक – २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्काे स्थित रहेको काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक बीबीए अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षित गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमको बारेमा ज्ञान हासिल गरेका छन ।

कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरूलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैलीलाई विस्तारित रुपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणहरुको अवसर तथा जोखिम बारेमा प्रकाश पार्नुभएको थियो। सानै उमेरदेखि आफुसंग रहेको पैसालाई एकीकृत गरी पुँजी निर्माण गर्न सकिने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरुको अवसर र चुनौतीका विषयमा प्रस्तुतिकरण गरिएको थियो । यस संगै क्यापिटलका विभिन्न विभागहरुमा विद्यार्थीहरूलाई भ्रमण गराई थप जानकारी प्रदान गरिएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित विभिन्न तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस विश्व वित्तीय सप्ताह को अवसरमा क्यापिटलले लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी विविध कार्यक्रमहरु संचालन गर्ने योजना राखेको छ ।

Share Now