काठमाडौं,२१ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उहाँका निकटस्थ व्यक्ति तथा नातेदारहरूका घरमा एकैपटक छापा मारेको छ।
विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरासहित उहाँ निकट मानिएका नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा टोली परिचालन गरी छापा मारेको हो।
स्रोतका अनुसार छापा मार्ने क्रममा टोली जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नवीन बस्नेतको निवासमा समेत पुगेको थियो। गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा टोलीले विभिन्न स्थानमा टोली खटाएर छापा मारेको र त्यसक्रममा केही महत्त्वपूर्ण कागजातहरू बरामद गरेको दाबी गरिएको छ।
यसअघि, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति उहाँकै निवासबाट नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उहाँलाई छाडिएको थियो।
जबरामाथि पछिल्लो समय विभिन्न विषयमा अनुसन्धान तीव्र भइरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले उहाँ र उहाँ निकटस्थ व्यक्तिहरूमाथि कारबाही अघि बढाएको हो।








