Prakash Adhikari April 3, 2024
काठमाडौँ, २१ चैत । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक आज  पनि बस्ने भएको छ ।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले यस विषयमा टुंगोमा पुग्न नसकेको जानकारी दिनुभयो ।
“मंगलबार उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच  छलफल गरेर बुधबार उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ”, विश्वकर्माले भन्नुभयो ।
उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको छ  । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।
Share Now