Prakash Adhikari April 3, 2024

 

काठमाडौं, २१ चैत। एक दिवसीय खेलमा मैदानमा उत्रिएको नेपाल ए ले आयरल्याण्डसंगको पहिलो खेलमा घरेलु मैदानमा नराम्रो पराजय ब्यहोरेको छ ।

प्रतिस्पर्धी आयरल्यान्ड ए ले दिएको जम्मा १ सय ५८ रनको सामान्य लक्ष्य नेपालको टिम एले हासिल गर्न सकेन । ५० ओभरको खेल २५.३ ओभरमा टुंग्याउदै नेपाल ए घरेलुु मैदानमा १ सय ३६ रनमा अल आउट भयो ।

नेपालका लागि साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६ रनमा आउट भए । बसिर अहमदले २० रन बनाए । रिजन ढकाल १२ रनमा नट आउट रहे ।कमल ऐरीले जम्मा ११ रन जोडे । घेरै आशा गरिएका अर्जुन कुमाल र कप्तान विनोद भण्डारीले जम्मा ९ । ९ रनको योगदान दिए । मौसम ढकाल शून्य रनमा आउट भए ।

नेपाललाई रोक्ने क्रममा आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।

खेलमा आयरल्याण्डका केड कार्माइकलले सर्वाधिक ५१ रन, निल रकले ३९, पिटर मूरले २१,स्टेफन दोहनी र जेम्स म्याककोलमले १२, थोमस मायसले ७, गेरेथ डिलेनीले ६ रन, लियम म्याककार्थीले २ जोडे । म्याथु हम्फ्रीज र वेन ह्वाइटले खाता खोल्न सकेनन् ।

आयरल्याण्डलाई रोक्ने क्रममा नेपालका कमलले ४, साहव आलम र मौसम ढकालले २। २ तथा रिजन ढकालले १ विकेट लिए ।

नेपाल ए र आयरल्याण्ड ए बीच दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

आयरल्याण्डको पाहुना टोलीले नेपाली सिनियर टोलीसँगको दुई खेलको टी २० सिरिज आयरल्यान्डले २-० ले नै गुमाएको थियो । नेपाल ए सँगको तीन खेलको टी २० सिरिज २-१ ले जितेको थियो ।

Share Now