Prakash Adhikari April 11, 2024
काठमाडौँ, २९ चैत । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) पर्व मनाउँदै छन् ।
हिजरी संवत्को रमदान (रमजान) महिना समापन  शव्वाल महिना सुरु हुँने दिन ईद मनाइन्छ ।
मुस्लिम धर्मावलम्बीहरु रमदानभरि रोजा (व्रत, उपवास) बस्ने गर्दछन् । यो ब्रत रमदान महिनाको अन्तिम दिन हिजो बुधबार सम्पन्न भइसकेको छ ।  शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को  कारण आज  मुस्लिम बाहुल्य बस्तीमा  रौनक बढेको हो ।
मुस्लिम समुदायको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् ।  हिजरी संवत्को पात्रोले बुधबार रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका  अधिकारप्राप्त इमाम (धर्मगुरु)ले   द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र  ईद मनाउने बाटो खुल्छ ।
इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।
इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् ।
रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिन्छ।
इस्लामका पाँच आधारस्तम्भ सहादा (मुस्लिमपन्थको स्वीकारोक्ति), नमाज (प्रार्थना), रोजा (रमदान महिनाको उपवास), जकात (आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम) र हज (मक्काको तीर्थयात्रा) हुन् । मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य छन् ।
रमदान समापनको दिनमा नेपालका मुस्लिम बस्तीमा भएको कुरान वाचनले वातावरणलाई  ईदमय बनाएर राखेको छ ।
मुस्लिम समुदायमा ‘इदउलफित्र’को नमाजकेहीले मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात पढेर सम्पत्र गर्छन ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।
यो तथ्याङ्क अपूर्ण भएको बताउँदै अध्यक्ष अन्सारीले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो ।
काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँ बताउनुहुन्छ ।
“संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।”
Share Now