काठमाडौँ, २९ चैत्र । इद (इद–उल–फित्र) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ,सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ । यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।
प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इद ९इद–उल–फित्र० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिनुभएको छ ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, “हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।”
नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ ।
सभामुखद्वारा शुभकामना
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।
“विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।”
देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आउनुभएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले स्मरण गराउनुभएको छ ।
–––
ईद उल फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद(उल(फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद(उल(फित्र” का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना ९इद मुवारक० प्रकट गर्दै उहाँले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको हो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ(आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् । सभापति देउवाले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गर्नुभएको छ ।
यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उहाँले त्यस मध्ये ईद उल फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले ‘ईद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।


















