Prakash Adhikari April 12, 2024

जलेश्वर (महोत्तरी), ३० चैत: महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ ।

आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ । छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ । छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो । पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक मनाइने छठोत्सवका क्रममा आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर भोजन गर्छन् । पर्वको दोस्रो दिन भोलि शनिबार खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्छन् र राति अरवा अरबाईन ( नुन नहालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन पर्सी आइतबार साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाँजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्छन् । षष्ठीका दिन व्रतीहरूले अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य अर्पण गर्ने परम्परा छ । त्यसको भोलिपल्ट सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्याइ सूर्यलाई अघ्र्य दिएर छठसम्पन्न गर्ने रीति छ ।

Share Now