किएभ(युक्रेन), ३० चैत्र (बीबीसी) । रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभ नजिकै अवस्थित एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ।
अधिकारीहरूका अनुसार ट्रिपील्या पावर प्लान्टबाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति हुन्थ्यो।
“यहाँ भएको विनाश भयावह छ”, सेन्त्रेनेर्गोका अध्यक्ष एन्द्री होताले भन्नुभयो ।
रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ।
कति भयो क्षति?
होताले बीबीसीलाई दिएको जानकारीअनुसार बिहीवार बिहानको हमलामा उक्त ऊर्जा केन्द्रका ट्रान्सफर्मर, टर्बाइन र जेनरेटरहरू ध्वस्त भएका छन्।
उहाँले रुसी पक्षले ती उपकरणलाई शतप्रतिशत नष्ट गरिदिएको बताउनुभयो। उक्त केन्द्र राजधानी किएभबाट ५० किलोमिटर दक्षिणमा छ।
हवाई आक्रमणपछि केन्द्रको टर्बाइन वर्कशपमा आगलागी पनि भएको थियो ।
उक्त कम्पनीका प्रमुखले ऊर्जा केन्द्रमा कैयौँ क्षैप्यास्त्र प्रहार भएको बताउनुभयो।
उहाँका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरू ड्रोन प्रहार हुनेबित्तिकै भागेर सुरक्षित स्थानमा लुक्न गएका थिए।
पानी भण्डारण गर्न आग्रह
उक्त आक्रमणसँगै त्यहाँका बासिन्दाहरूलाई घरका झ्यालहरू बन्द गर्न, सबै विद्युतीय उपकरणहरू चार्ज गर्न अनि पानी भण्डारण गर्न आग्रह गरिएको थियो।
बिहीवार बिहान सबेरै युक्रेनभरि ८० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार भएका थिए। तीमध्ये अधिकांशले ऊर्जा पूर्वाधारलाई निसाना बनाएका थिए।
युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले झन्डै एकतिहाइ क्षेप्यास्त्र र ड्रोनलाई निस्तेज पारिदिएको थियो।
उक्त आक्रमणको घण्टौँपछि सेन्त्रेनेर्गो कम्पनीले ट्रिपील्या ऊर्जा केन्द्रमा विद्युत् उत्पादन बन्द भएको जनायो।
कस्तो प्रभाव ?
कम्पनीका अध्यक्ष होताले युक्रेनमा आफ्नो कम्पनीको सबै उत्पादन क्षमता नष्ट भएको बताउनुभयो। उक्त कम्पनी युक्रेनका सबैभन्दा ठूला विद्युत् तथा ऊर्जा सेवाप्रदायकमध्येको एउटा हो।
सो कम्पनीले युक्रेनका अन्य क्षेत्रमा अरू दुइटा ऊर्जा केन्द्र पनि सञ्चालन गर्थ्यो। खार्किभ क्षेत्रमा रहेको एउटा केन्द्र पनि मार्च महिनाको अन्त्यतिर रुसी आक्रमणमा नष्ट भयो।
डोनेट्स्क क्षेत्रमा रहेको अर्को ऊर्जा केन्द्रलाई सन् २०२२ को जुनमा रुसले कब्जा गरेको थियो।
कम्पनीका अध्यक्षका अनुसार खार्किभ र ट्रिपील्या ऊर्जा केन्द्रहरूले युक्रेनमा खपत हुने झन्डै आठ प्रतिशत बिजुली उत्पादन गर्ने गरेको बताउनुभयो।
ट्रिपील्या ऊर्जा केन्द्रको विनाशले गर्मीमा खासै असर नपरे पनि जाडो महिनामा ठूलो समस्या निम्तिन सक्ने उहाँले बताउनुभयो।
युरोपबाट आवश्यक सामग्री र उपकरण ल्याएर उक्त केन्द्रको मर्मत गर्न सकिने भए पनि युक्रेनलाई उसका साझेदारहरूले शक्तिशाली हवाई सुरक्षा प्रणाली नदिएसम्म ऊर्जा केन्द्र खतरामा रहिरहने उहाँको भनाइ छ।
पश्चिमी युक्रेनमा रातभरिमा थप दुई ऊर्जा केन्द्रमा ठूलो क्षति भएको छ। त्यसले गर्दा युक्रेनभरि बिजुली आपूर्तिमा थप दबाब परेको छ।
मार्चमा पुनः आक्रमणमा परेपछि डीटीईके ऊर्जा कम्पनीको क्षमता पहिले नै २० प्रतिशतमा झरेको छ।
मार्चको अन्त्यमा उक्त क्षेत्रका ऊर्जा केन्द्रहरूमा व्यापक क्षति भएपछि उत्तरपूर्वी खार्किभ क्षेत्र फेरि नराम्ररी प्रभावित भएको छ।
त्यहाँका नगरप्रमुखले अवस्था धेरै कठिन भएको बताएका छन्। उनले त्यहाँ विद्युत् आपूर्ति कटौतीको घोषणा गरेका छन्।
बिजुली बचत गर्नका लागि बिहीवार केही समयको लागि खार्किभ मेट्रो पनि रोकिएको थियो।
अहिले मेट्रो पुनः सुरु भएको छ तर बिजुली आपूर्तिमा निरन्तरको अवरोधका कारण केही स्थानहरूमा मात्र रेल चलिरहेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनले रुसी उर्जा केन्द्रहरूमा आक्रमण गरेपछि त्यसको जबाफ दिन बाध्य भएको बताउनुभएको छ।
यद्यपि उहाँले दुई वर्षअघि बिनाकारण युक्रेनमा युद्ध सुरु गर्नुभएको थियो।


















