अलअमिरात(ओमान), ७ बैशाख । ओमानमा भईरहेको एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज नेपाली टिम युएईसँग भिडदै छ ।
खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा ओमानको अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुने तालिका रहेको छ ।
नेपाल समूह ‘ए’ बाट समूह चरणका ४ खेलमा बिजयी बन्दै समूह बिजेताका रुपमा ८ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । युएई समूह बीबाट ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
खेलमा नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।
२०२२ फेब्रुअरीमा यही आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा नेपाल ६८ रनले युएईसँग पराजित हुँदै बाहिरिएको थियो ।
नेपाली टोली त्यो सेमिफाइनलको बदला लिने ताकमा छ ।
जारी एसीसी प्रिमियम कपमा नेपालका दीपेन्द्रसिंह ऐरी टिमकोलागि बरदान भएका छन्। दीपेन्द्रले ब्याकोटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा निकै राम्रो प्रदर्शन गरिरहेका छन् । कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्र अझ राम्रो प्रदर्शनको खोजीमा छन् ।
युएईका कप्तान मोहम्मद वासिम, एलिशान शराफु र आसिफ खान प्रमुख ब्याटर हुन् ।
यो प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा छन् ।
यूएईको टोलीमा कप्तान मोहम्मद वासिम, आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान रहेका छन् ।