-इमरान कुरेशी र मर्ल सेबास्टिअन
नयाँदिल्ली(भारत), १८ बैशाख(बीबीसी न्यूज) । भारतको दक्षिणी राज्य कर्नाटकमा पूर्वप्रधानमन्त्री एचडी देवेडौगाका नानी तथा भारतीय सांसदले महिलालाई यौन दुर्व्यवहार गरेको देखाउने खालका हजारौँ भिडिओ व्यापक रूपमा फैलिएसँगै त्यसले त्यहाँ आक्रोश निम्त्याएको छ।
सांसद प्रज्ज्वल रेवान्नामाथि कैया महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
ती भिडिओ तथा घटनाबारे रेवन्नाले कुनै टिप्पणी गर्नुभएको छैन तर उहाँको कार्यालयका एक अधिकारीले ती आरोपहरूलाई अस्वीकार गर्दै डक्टर्ड गरिएका भिडिओहरू शेअर गरिएको बताएका छन्।
प्रज्ज्वल प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपीको सहयोगी जनता दल ९सेक्युलर०बाट निर्वाचित सांसद हुनुहुन्छ ।
उजुरी दर्ता
प्रज्जवलका पिता एचडी रेवन्ना पनि उक्त परिवारका एक पूर्वकर्मचारीले दर्ता गरेको उजुरीमा आरोपित बनाइनुभएको छ। उहाँ कर्नाटकको विधानसभाका सदस्य हुनुहुन्छ।
एचडी रेवन्नाले आरोप अस्वीकार गर्दै त्यसलाई राजनीतिक षड्यन्त्र भनेका भन्नुभएको छ।
गत सोमवार जनता दल (सेक्युलर)ले प्रज्ज्वल रेवन्नालाई निलम्बन गरेको घोषणा गरेको छ।
उक्त दलको स्थापना रेवन्नाका हजुरबुवा एचडी देवेगौडाले गर्नुभएको थियो
। उहाँ भारतका पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ ।
कर्नाटकका मुख्यमन्त्री के सिद्धरामैयाले राज्यको महिला आयोगको अनुरोधका आधारमा एउटा विशेष अनुसन्धान टोली (एसआईटी) यो मामिलाको जाँच गर्ने बताउनुभएको छ।
भिडिओ वितरण
प्रज्ज्वल रेवन्नाले आफ्नो निर्वाचन क्षेत्र हसनमा यही एप्रिल २६ तारिखमा आमनिर्वाचनमा मतदान गरेको एक दिनपछि ती भिडिओहरू सार्वजनिक भएका थिए।
रेवन्ना अहिले पनि उक्त क्षेत्रका भारतको सङ्घीय संसद्को तल्लो सदन लोकसभाका सांसद् हुनुहुन्छ भने उक्त क्षेत्रबाटै उहाँ अर्को कार्यकालका लागि बीजेपीसँगको गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ।
भिडिओ कसले बाहिर ल्यायो र वितरण गर्यो भन्ने स्पष्ट छैन। तर इन्डियन एक्सप्रेस पत्रिकाको खबर अनुसार चुनावअघि २,००० भन्दा बढी पेन ड्राइभमा ती भिडिओहरू वितरण गरिएको थियो।
सार्वजनिक भएका विवरणहरूमा रेवान्ना आफैँले खिचेका जस्ता देखिने भिडिओ क्लिपहरूमा उनले दुर्व्यवहार गरेका महिलाहरूको अनुहार देखिएको छ।
“पेन ड्राइभहरू बसका सिटहरूमा, बस स्ट्यान्डहरूमा राखिएको थियो र पार्कजस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई दिइयो”, एक अधिकारीले उक्त पत्रिकालाई भनेका छन्, “यी पेन ड्राइभहरूमा २,००० भन्दा बढी फाइलहरू थिए त्यसमा भिडिओ र तस्बिरहरू पनि समावेश थिए। केही घण्टापछि हामीले ती भिडिओहरू व्हाट्सएपमा व्यापक रूपमा साझा गरिएको पायौँ।”
रगत उमाल्ने भिडिओ
उक्त घटनापछि कर्नाटकको महिला आयोगकी प्रमुख नागलक्ष्मी चौधरीले राज्यका प्रहरी प्रमुखलाई पत्र लेखेर दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ
।
‘केही भिडियो देख्दा तपाइँको रगत उम्लिन्छ’,उहाँले बीबीसीलाई भन्नभयो, “त्यहाँ एउटी महिला छिन् र उनले दयाको भीख मागिरहेकी छिन्’…. कृपया नगर्नुहोस्, कृपया नगर्नुहोस्’ भनिरहेको देख्दा तपाईँले आफैँलाई सम्हाल्न सक्नुहुन्न।”
गत आइतवार उक्त परिवारका लागि खाना पकाउने काम गर्ने एक ४७ वर्षीया महिलाले आफूलाई प्रज्जवल र उहाँका पिता दुवैले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिनुभएको छ। उहाँ रेवन्नाकी आमातर्फकी आफन्त समेत रहेको बताइएको छ।
“मैले त्यो परिवारमा काम सुरु गर्दा अरू ६ जना कामदार प्रज्ज्वलसँग डराउँछौँ भन्थे। पुरुष कामदारहरूले पनि हामीलाई एचडीे रेवन्ना र उनका छोरा प्रज्ज्वलसँग होसियार हुन आग्रह गर्थे “, उहाँले उजुरीमा लेख्नुभएको छ।
“आफ्नी श्रीमती टाढा हुँदा एचडीे रेवन्नाले मलाई पटकपटक अनुपयुक्त रूपमा छुने, लुगा फुकाल्दिने र यौन दुर्व्यवहार गर्ने गर्नुहुन्थ्यो। म भान्सामा काम गरिरहेको बेला प्रज्ज्वलले मलाई पछाडिबाट समात्नुहुन्थ्यो” , उहाँले त्यसमा थप व्याख्या गर्नुभएको छ।
ती महिलाले आफूले अन्य पीडितहरूको भिडिओ हेरेपछि उजुरी गर्ने निर्णय गरेको दाबी गर्नुभएको छ।
उहाँले प्रज्ज्वलले आफ्नी छोरीलाई पनि दुर्व्यवहार गरेको र उहाँका बुवाले पनि पछ्याउने र आपराधिक धम्की दिएको उल्लेख गर्नुभएको छ।
आरोपित देशबाहिर
प्रहरीले प्रज्ज्वलले देश छाडेको जनाएको छ। केही विवरणमा उहाँ जर्मनीमा रहेको जनाइएको छ। तर उहाँका बुवाले उक्त दाबीलाई अस्वीकार गर्दै अनुसन्धानको सामना गर्न आफूहरू तयार रहेको बताउनुभएको छ।
“हामी डराएर भाग्दैनौँ। हामी यहीँ छौँ। हामी कानुनअनुसार यी आरोपको प्रतिकार गर्छौँ “, उहाँले पत्रकारसँग भन्नभयो।
यो घटनाले कर्नाटकमा राजनीतिक तरङ्ग ल्याएको छ। धेरैले कसैलाई यस्तो आपराधिक कार्यको आरोपमा पनि सोधपुछविनै देश छोड्न कसरी अनुमति दिइयो भनेर प्रश्न गरेका छन्।
उक्त राज्यका एक मन्त्रीले एक्समा लेख्दै प्रधानमन्त्री मोदीलाई उहाँको गठबन्धनले ‘के रेवान्नाले सयौँ महिलालाई दुर्व्यवहार गरेको पुरस्कार स्वरूप उहाँलाई उम्मेदवार बनाएको हो’ भन्ने प्रश्न सोध्नुभएको छ।
ती टिप्पणीहरू द हिन्दू अखबारको एउटा समाचारपछि आएका हुन्। उक्त खबरमा बीजेपीका एक नेताले गत वर्ष नै ती भिडिओ क्लिपहरूबारे राज्यको नेतृत्वलाई जानकारी गराइएको थियो भनेका छन्।
बीजेपीका एक प्रवक्ताले एनडीटीभी च्यानलसँग भनेका छन्, “पार्टीको रूपमा हामीलाई ती भिडिओबारे कुनै सरोकार छैन र हामी जारी छानबिनबारे पनि टिप्पणी गर्न चाहन्नौँ।”
जनता दल (सेक्युलर) ले पनि उक्त मामिलामा जोडिएका दुई नेतासँग दूरी बनाएको छ।
एचडी रेवान्नाका दाइ कर्नाटकका पूर्वमुख्यमन्त्री एचडी कुमारास्वामीले पनि उक्त घटनालाई समाजका लागि लज्जास्पद भन्नुभएको छ।
उहाँले परिवार र पार्टीलाई अलग राख्न पनि आग्रह गर्नुभएको छ।
पार्टीका वरिष्ठ नेता जीटी देवेगौडाले आरोप प्रमाणित भएमा दुवै जनालाई अनुशासनसम्बन्धी कारबाही गर्ने बताउनुभएको छ।


















