काठमाडौं, १८ बैशाख । आज नेपालको शेयर बजारमा एकाएक रौनक आएको छ । यस दिन नेप्से परिसूचक २५.९३ अंक बढेर २००६.२८ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन विभिन्न कम्पनीका ३ सय २० स्टकको १ करोड १८ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत घटेको हो।


















