Prakash Adhikari May 7, 2024

काठमाडौं, २५ बैशाख । माउण्टेन इनर्जी जलविद्युत आयोजना आयोजनाले नेपाल विद्युत प्राधिकरणविरुद्धको मुद्दा जितेको छ ।

कम्पनीले व्यापारिक सञ्चालनमा आएको मिति(COD) देखि मध्येस्थता परिषदमा मुद्दा पेश हुँदा सम्मको रु २६ करोड र सो पश्चात हालसम्म कट्टा गर्दै आएको रकम फिर्ता दिने मध्यस्थता परिषद्को निर्णयविरुद्ध प्राधिकरण पाटन उच्च अदालतमा गएको थियो ।मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

आइतबार उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरेको हो। यस संगै यो मुद्दा माउन्टेन इनर्जीले जितेको छ ।

मुद्दा जिते संगै कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट करिब आयोजनाको व्यापारिक सञ्चालन दिनदेखि मध्यस्थता परिषद्मा मुद्दा पेश हुँदा सम्मको रु। २६ करोड ४१ लाख र सो पश्चात हाल सम्म कट्टा गर्दै आएको रकम र त्यसमा लाग्ने ब्याज रकम समेत पाउने बाटो खुलेको कम्पनीले जनाएको छ ।

के थियो विवाद ?

प्राधिकरण र कम्पनीबीच पहिलो विवाद विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा रहेको विद्युत खरिद बिक्री दरको विषयमा थियो । कम्पनी र प्राधिकरणबीच २०६७ माग २० गते पीपीए भएको थियो, जुन २०७३ वैशाख १५ गते संशोधन भएको थियो ।

पीपीए अनुसार कम्पनीले २०७६ भदौ १५ गतेबाट मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिसक्नु पर्ने थियो । तर प्राधिकरणले समय मै प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न नसकेकोले तोकिएको समयमा विद्युत उत्पादन हुन सकेन । त्यसपछि व्यापारिक उत्पादन सुरु गरेको मिति २०७८ असार ३ गते कायम गरिएको थियो ।

कम्पनीले हाल चौथो वर्षको विद्युत खरिद बिक्री दर अनुसारको रकम विद्युत प्राधिकरणबाट माग गरिरहेको थियो । तर प्राधिकरणले भने पहिलो वर्षको पीपीए दरले मात्र पैसा भुक्तानी गर्दै आएको छ ।

साथै प्राधिकरण र कम्पनीबीच भएको दोस्रो विवाद विद्युत खरिद बिक्री सम्झौता (पीपीए) धारा ३८.१८ अनुसार नेपाल विद्युत प्राधिकरण द्वारा संचालित तातो पानी साना जलविद्युत आयोजना (२ मे.वा) मा यस आयोजनाको कारणले विद्युत
उत्पादनमा भएको ह्रास वरावरको रकम मात्र कट्टा गर्नु पर्नेमा जडित क्षमता बराबरकै रकम कट्टा गर्दै आएको छ ।

चौथो वर्षको पीपीए दर अनुसार पैसा पाउनु पर्ने तथा तातो पानी साना जलविद्युत केन्द्रको वास्तविक ह्रास अनुसार कट्टा गर्नुपर्ने भन्दै कम्पनीले मध्यस्थकर्ता समक्ष मुद्दा हालेको थियो ।

मध्यस्थकर्ताले सर्वसम्मत रुपमा कम्पनी कै पक्षमा फैसला गरेको थियो । सो विरुद्द प्राधिकरणले मध्यस्थकर्ताको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट हालेको थियो ।

सोहि रिटमा दाबी नपुग्ने फैसला भएपछि कम्पनीले मुद्दा जितेको हो ।

Share Now