काठमाडौं, ९ बैशाख । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा.भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैया सहयोग दिन घोषणा गर्नुभएको छ।
शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्र पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गर्नुभएको हो।
कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताल निर्माणबारे चासो राख्नुभएको थियो। डा. कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई जानकारी दिनुभएको थियो।
त्यसपछि गुरुड.ले ४१ करोड रूपैयाँ सहयोगको घोषणा गर्नुभयो।
भाटभटेनीका गुरुड.को सहयोगप्रीत खुशी व्यक्त गर्दै डा. कोइरालाले उक्त रकम अस्पताल निर्माणमा ठूलो सहयोग रहेको बताउनुभये। उहाँले अस्पताल भगवान कोइराला वा बोर्डको मात्र नभई देशकै लागि बनाइएको बताउनुभयो।
डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सार्नुभएको छ ।
कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ।
अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण गरिने छ।


















