पोखरा(कास्की), ११ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अधिनायकवाद र साम्यवादविरुद्धको लोकतान्त्रिक लडाइ भएको बताउनुभएको छ।
शनिबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले वाम गठबन्धन कांग्रेस विरुद्धमात्र नभएर राष्ट्रकै विरुद्ध भएको भन्दै गठबन्धनमार्फत नेपालको राष्ट्रियता खलबल पार्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो।
उहाँले एकताबद्ध भएर एक दलीय सर्वसत्तावाद, तानाशाही र कम्युनिष्ट निरंकुश शासनमा पुग्नबाट राष्ट््लाई रोक्न पर्ने बताउनुभयो । उहाले देशको राष्ट्रियता र प्रजातन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभयो।
उहाँले स्थानीय चुनावमा अन्य पार्टीले जिते पनि प्रदेश र प्रतिनिधिसभाको चुनावमा कांग्रेस विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न खोजेको बताउनुभयो।
उहाँले ‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखा परेको बताउदै कम्युनिष्टहरुले संविधान कार्यान्वयनमा ब्यवधान खडा गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले बहुमतले जारी गरेको संविधानलाई कम्युनिष्टहरुले फेर्ने कुरा गरेको आरोप लगाउदै काग्रेस नेता पौडेलले लोकतन्त्रको घोडा चढेर अधिनायकवादमा पुग्ने कम्युनिष्टहरुको चालबाजी सुरु भएको बताउनुभयो ।
उहाँले वाम गठबन्धनलाई सबै लोकतन्त्रवादी शक्तिले गम्भीरतापूर्वक लिनुपर्ने बताउदै अबको लडाइँ लोकतन्त्र र साम्यवाद विरुद्धको भएको उल्लेख गर्नुभयो ।
‘अबको लडाइँ अधिनायक र स्वतन्त्रताबीचको लडाइँ हो’, उहाँले भन्नुभयो ‘यो चुनाव पार्टीको होइन लोकतन्त्रको लडाँ हो, व्यवस्थाको लडाइँ हो। कांग्रेसलाई जनताको साथ चाहिएको छ।’ कम्युनिष्टले देशलाई पछि पार्ने दाउ खोजिरहेको भन्दै पौडेलले त्यसतर्फ सचेत भएर कांग्रेसलाई समर्थन गर्न आग्रह गर्नुभयो ।
‘कम्युनिष्टको व्यवहार सामान्य कुरा होइन, हामी एकजुट भएर देशलाई राजनीतिक अस्थिरता त्यागेर समृद्धितर्फ अगाडि बढाउनेछौ’, उहाँले भन्नुभयो ]सबै जनताले कांग्रेसलाई साथ दिनुपर्छ। कांग्रेसलाई साथ दिने भनेको स्वतन्त्रता र समृद्धिलाई साथ दिनु हो।’
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गर्नुभयो । उहाँले अबको युग आर्थिक समृद्धि र विकासको युग भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसको चारतारे झण्डामुनि समाहित हुन सबैसँग आग्रह गर्नुभयो ।
शनिबारको कार्यक्रममा अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिइएको थियो। कार्यक्रममा पूर्व सांसद सूर्यबहादुर केसीलाई अबीर र खादा लगाएर कांग्रेस नेताहरुले पार्टीमा प्रवेश गराउनुभएको थियो ।