Prakash Adhikari October 28, 2017

 

गजुरी(धादिड.) ११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा शनिवार बिहान भएको बस दुर्घटनामा३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

सप्तरीको राजविराजबाट काठमाडौं आउदै गरेको बस अत्यधिक तीव्र गतिको कारण बांगेमोडबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु भएका अधिकांश सप्तरीका छन् ।

दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र एक आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान गएको छ ।

यस्तै संजीतका साला बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपत्ता छन् ।

यस्तै बोदेबर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ ।

छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएको हो ।

बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको छ ।

बसमा यात्रा गरिरहेका १६ जना उछिट्टिएर नदी किनारमा घाइते अवस्थामा भेटिएका थिए । स्थानीय र प्रहरीले उनीहरुलाई उपचारका लागि गजुरीस्थित अस्पतालमा लगेका थिए ।

त्यसपछि प्रहरीले उद्धारका लागि सेना र सशस्त्र प्रहरीलाई बोलायो।

सुरुमा एक महिलाको शव नदीबाट निकालियो। त्यसपछि एक बालकको शव भेटियो।

राजविराजबाट १५ जना यात्रुको चलानी लिएर आएको ना ६ ख १४६६ नम्बरको बस राती १० बजेतिर हेटौंडा आइपुगेको थियो । त्यसपछि सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्बरको बसमा यात्रु चढाएर काठमाडौं पठाएको थियो।

हेटौंडाबाट ३५ जना भन्दा बढी यात्रु लिएर बस काठमाडौं हिँडेको मध्य क्षेत्र प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी सुरेन्द्र मैनालीले बताए। ‘

शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।

घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शोक तथा समवेदना सन्देश दिनुभएको छ ।

दुर्घटनाको छानवीन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।

समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

 

Share Now

Leave a comment.