टिप्पणी
काममा अलिकति जाँगर देखाउने पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो मधुमासको कार्यक्रम सार्वजनिक गर्दा नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई २१ घण्टा सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरे । मन्त्रालयका सचिव,सहसचिव,प्राविधिक सबैको सल्लाह र सहमतिमा नै सो कार्यक्रम तय गरिएको थियो वा तीन चौथाईको समर्थन प्राप्त सरकारका मन्त्रीको आकांक्षा बुझेर सो कार्यक्रममा प्राविधिकहरुले सहमति जनाएका थिए । त्यो ठ्याक्कै थाहा भएन ।
तर मधुमास समाप्त नहुँदै मन्त्रीको मनोरञ्जनका लागि एअरपोर्ट साविकको १८ घण्टाबाट रातको ३ घण्टा थप गरी २१ घण्टा खोल्ने कार्यको मन्त्री महोदयले सोमबार उद्घाटन गरे । रिवन काटेको फोटो सञ्चार माध्यममा पनि छायो । उदेक लाग्दो कुरा के भयो भने संसार भरका यात्रुलाई नेपालमा सुरक्षित हवाई यात्राको लागि आमन्त्रण गर्न समयावधि थपिएको जानकारी दिन आयोजित सो कार्यक्रममा मन्त्री स्वयं र सचिवले समेत कर्मचारीलाई धम्क्याए । पोखरेली मन्त्रीको लोलीमा बोली मिलाउन पुगेका पोखरेली सचिवले पर्यटन र त्यसमा पनि नागरिक उड्ड्यन क्षेत्रको संवेदनशीलतामा गरेको बलमिच्याईले उनीहरुको सोचाईको स्तरमा बडो टिठलाग्ने देखाएको छ ।
नागरिक उड्डयनमा चालक पाइलट र कोपाइलट र एअर ट्राफिक कन्ट्रोलरको भूमिका अत्यन्त्र महत्वपूर्ण र संवेदनशील मानिन्छ । झण्डै जमीनबाट ३५ देखि ४० हजार फिट माथिको आकाशमा सयौं नागरिकहरुलाई उडाएर लैजाने पाइलटले लिने हरेक निर्णय यात्रुहरुको भविष्य अर्थात जीवनसंग जोडिएको हुन्छ । विमानहरुको सुरक्षित उडान,अवतरण र आकाशमा रहेका विमानको रुट निर्देशन र रनवेको पालो, रन वेको विभाजन, उडान र अवतरणको स्लट निर्धारण गर्न एअरपोर्टको कन्ट्रोल रुममा बसेर राडरमा विमानको दिशा, गति हेरेर वा पाइलटसंगको संवादका आधारमा सुरक्षित उडान र अवतरण गराउने एअर ट्राफिक कन्ट्रोलरको भूमिका रहन्छ । उनीहरुले समयमा सही निर्णय लिन सकेनन भने दुर्घटना पर्ने र आकाशमा उडिरहेका जहाजहरु पहाडमा ठोकिने, रनवेमा ब्रजिने, आकाशमै जुध्ने जस्ता दुर्घटना हुन पुग्दछन । यसले सयौं निरपराध यात्रुहरुको जीवनलिला समाप्त पार्दछ । नेपाली आकाश त्यसको अपवाद छैन ।
समाचारमा आएअनुसार विमानस्थलका एटीसीले अहिले संख्या कम भएको र अतिरिक्त समय काम गर्दा अप्ठ्यारो पर्ने समस्या त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय, नागरिक उड्डयन प्राधिकरण,सचिव र मन्त्रीसम्म पुर्याएका रहेछन् ।तर त्यसलाई सहजरुपमा ग्रहण नगरी पेलपाल गरेका रहेछन् । जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा चलाएको जस लिन मन्त्री र सचिवले काम गर्ने इच्छा नभए राजिनामा गरेर जान चुनौति दिएका रहेछन् ।
मन्त्री र सचिवको संवेदनहिन, अव्यवहारिक र साच्चै कम्युनिष्ट पाराको शैलीमा (प्रधानमन्त्री ओली समेतले पार्टी एकताको सन्दर्भमा बोलेझै जुत्ता ल्याइसकियो, अब मिलेन भने खुट्टा काटेरै मिलाइन्छ भनेका थिए) पेलेर जान खोजेको देखिन्छ ।
केही महिनापूर्व वंगलादेशबाट आएको यूएस बंगला एअरलाइन्सको जहाजको पाइलट र कोपाइलटसंग एटीसीका कर्मचारीले गरेको सम्बादमा समयमा निर्णय लिन नसकेको, अंग्रेजीभाषामा सहज रुपमा संवाद गर्न नसकेको र नेपाली आकाशमा उडीरहेका यति एअरलाइन्सका पाइटलले एअर ट्राफिक कन्ट्रोलरलाई यो प्लेनको पाइलट रन वेको जिरो टू र टू जिरोमा अल्मलिए जस्तो छ , यसलाई राडार प्रयोग गर्ने अनुमति दिनपर्यो भन्दा समेत समयमा एयरपोर्टमा उपलब्ध राडर उपयोगको निर्देशन दिन नसकेर सो विमान दुर्घटना भएको कुरा पाइलट र एटीसी संवादमा स्पष्ट सुनिएको थियो । पाइलटसंगको लामो संवादमा एटीसीले न त सही निर्देशन दिन सकेको देखिन्छ न राडारको उपयोग गरेर नेपाली आकाश र एअरपोर्टलाई सुरक्षित नै बनाउन सकेको देखिन्छ ।
नागरिक उड्डयनमा पाइलट र एटीसीका कार्यरत कर्मचारीको तनावलाई निकै संवदेनशील रुपमा लिइन्छ । पोखराबाट काठमाडौ आउदा रामकोटमा दुर्घटनाग्रस्त भएको नेकोन एअरको जहाजका पाइलट क्याप्टेन जयकृष्णराज जोशी त्यतिवेला ठूलो पारिवारिक तनावमा भएको बाहिर आएको थियो । २०१४ मा मलेशियाको क्वालम्पुरबाट २२७ जनायात्रु र १२जना जहाजका कर्मचारी लिएर चीनको बेइजिड. जादै गरेका मलेशियन एअरलाइन्सको उडान ३७० को जहाजका पाइटल अत्यन्त तनावमा भएर आत्महत्याको निर्णयमा पुगेकोले सबै सबार यात्रहरुलाई अत्तोपत्तो नलाग्ने गरी महासागरमा विलिन गराएको अनुमान ४ बर्षको अनुसन्धान पछि लगाइएको छ ।
केही बर्षपूर्व स्पेनको वार्सिलोनाबाट १सय ४४ यात्रु र ६ उडान कर्मचारीसहित जर्मनीको डसेलडर्फमा जाँदै गरेका जर्मन विंगको जहाज फ्रान्सको आल्पस पहाडमा ठोकिदा सबैको जीवन गएको थियो । अनुसन्धानका क्रममा जर्मन एअरलाइन्सको जहाजका सहचालक(को पाइलट) पनि आन्तरिक तनावमा भएकोले सो दुर्घटना भएको निष्कर्ष निकालिएको थियो ।
जनशक्तिको अभाव हुँदा हुँदै, ५ बर्षका लागि आएको सरकारका तीक्ष्ण बुद्धि र धूत्र्याई भएका मन्त्री रविन्द्रलाई पूर्व तयारी विना एअरपोर्ट २१ घण्टा खोल्ने जरुरी किन पर्यो ?
एटीसीलाई बढी समय काम लगाउदा लोड, तनाव,कति वढला र निदाउन र शरिरलाई चाहिने न्यूनतम आरामको सुविधा पाएन भने वर्किक इफिसियन्सी कति बढ्ला ?
हवाई सेवाको बजार व्यस्थापन र उडान तालिका हाम्रो आफ्नो अनुकूलताले मात्र निर्धारण हुँदैन । एअरलाइन्सहरुको अन्तराष्ट््िरय उडान सञ्चालसंगको आबद्धता र कम्तिमा ६ महिनादेखि निर्धारण गरिएको उडान तालिकाले निर्धारण गर्दछ ।
मन्त्री र सचिव दुवैले बढ्दो हवाई दुर्घटनाका कारण नेपाल यूरोपेली मुलुकको नागरिक उड्डयनको कालोसूचिमा परेका कुरालाई विर्सिएको देखिन्छ । विगत ३ महिनाभित्र युएस बंगलाको दुर्घटना र मकालु एअरको हुम्लाको दुर्घटनाले यो प्रतिवन्ध तत्काल हट्ने देखिदैन ।
मन्त्री,सचिव र मन्त्रालयले एअरपोर्ट २४ सै घण्टा सुचारु गर्दा थपिने ६ घण्टाको समयमा नेपालमा उडान भर्ने स्वदेशी र विदेशी एअरलाइनको सूचि संकलन गर्ने मात्र होइन नेपालका क्षेत्रीय विमानस्थलबाट रात्रीको जुनकुनै समय पनि जहाज चलाउन सक्ने पूर्वाधार एअरपोर्टमा जडान गर्न, नेपालमा सञ्चालित वायुसेवाका विमानहरुमा त्यस्ता उपकरण जडान गर्न र उद्गम तथा गन्तव्यका शहरहरु रात्रीको समय पुरै खोल्ने वातावरण बनाउन आवश्यक थियो । मन्त्री र सचिवको ध्यान त्यता त गएको देखिदैन ।