Prakash Adhikari May 30, 2024

खजुरा (बाँके), १७ जेठ : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्यनीति तय गर्न तीनदिने कार्यशाला नेपालगञ्जमा सुरु भएको छ । सहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज यहाँ सुरु भएको कार्याशालाको शुभारम्भ गर्नुहुँदै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले विपद्का नयाँ नयाँ स्वरुप देखापरिरहेकाले यो समयमा साझा नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले विपद् पहिचान र पूर्व तयारी तथा प्रतिकार्यका लागि साझा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै प्रदेश प्रदेशका बीचमा भ्रातृत्वको विकास गर्नुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव हरि लम्सालले सबैको साझा प्रयासबाट मात्रै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सुपर परियोजनासँगको सहकार्यमा नगरमा विपद् पूर्व तयारी र प्रतिकार्यका लागि थुपै्र काम भएको चर्चा गर्दै पश्चिम क्षेत्रमा विपदजन्य घटना हुँदा नेपालगञ्ज क्षेत्रमा सर्तक (एलर्ट) हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“त्यस हिसाबले पनि नेपालगञ्जले आफूलाई तयार गर्दै अगाडि बढेको छ ।”धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले समुदायलाई परिचालन गर्ने गरी विपद् पूर्व तयारी र प्रतिकार्यको योजना बनाउनुपर्ने जोड दिँदै आपसी समन्वयले विपद्विरुद्ध लड्न सकिने बताउनुभयो ।

अन्तरप्रादेशिक कृत्रिम घटना अभ्यासमा विपद्का क्षेत्रमा भइरहेका अन्तर प्रादेशिक अनुभव आदानप्रदान, सिकाइ हासिल र साझा कार्यनीति तय गरिनेछ । मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सबैतिरको साझा प्रयासले मात्र विपद् जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिएका थिए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि बैजन्ती गिरी सिंहले विपद्लाई साझा समस्याका रुपमा स्वीकार गरी साझा रणनीतिका साथ कार्यान्वयन तहमा जानुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव सुशील बैद्य, कर्णालीका निमित्त सचिव निधिराज न्यौपाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशकी विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रदेश विपद् प्रतिकार्य कार्यढाँचाका बारेमा विज्ञ शङ्कर कोइराला, अर्का विज्ञ सुनिलसन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विपद्मा स्वयंसेवक परिचालनका बारेमा विज्ञ कृष्ण काफ्लेले छुट्टाछट्टै प्रस्तुतिकरण गर्नुभएको आपतकालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्सम्बन्धी कृत्रिम घटना अभ्यास गरिनेछ ।

Share Now