बेइजिड.(चीन), ३ जेठ(बीबीसी) । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ।
बेइजिङको स्थानीय समय अनुसार चाङ्गअ सिक्स दक्षिणी ध्रुवको एइकेन बेसिनमा आइतबार बिहान ६ बजेर २३ मिनेटमा पुगेको चाइना न्याश्नल स्पेश एडमिनिस्ट्रेशन (सीएनएसए)ले जनाएको छ।
मे ३ मा प्रक्षेपण गरिएको उक्त चन्द्र मिशनले इतिहासमा पहिलो पटक उक्त क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने उद्देश्य राखेको छ।
उक्त अनुसन्धानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टानहरू सङ्कलन गर्न सक्ने ठानिएको छ।
चिनियाँ अभियानको उद्देश्य के हो?
चन्द्रमाको टाढाको क्षेत्रमा अन्तरिक्षयान पुगेपछि सञ्चार कायम गर्न जटिल ठानिने भएकाले उक्त अवतरणलाई जोखिमपूर्ण ठानिएको थियो।
सन् २०१९ मा आफ्नो चाङ्ग अ फोर अवतरण गरेर यस्तो उपलब्धि हासिल गर्ने चीन एक मात्र देश हो।
वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको सो यानले अवतरण गर्ने समयको प्रतीक्षा गर्दै चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको थियो।
त्यसपछि उक्त मिसनको ल्यान्डरले आफूलाई अर्बिटरबाट अलग गर्दै पृथ्वीबाट स्थायी रूपमा नै अर्कोतर्फ फर्किएको भागमा अवतरण गर्यो।
अवतरणको समयमा एउटा स्वायत्त भिजुअल प्रणालीलाई परिचालन गरिएको थियो जसले स्वतः कुनै पनि अवरोधहरूलाई पहिचान गर्न सक्थ्यो।
त्यसबाहेक एउटा हल्का किसिमको क्यामेरा पनि जडान गरिएको थियो जसले चन्द्रमाको सतहको उज्यालो र अन्धकार अवस्थालाई हेरेर तुलनात्मक रूपमा सुरक्षित स्थान पहिचान गरेको सीएनएसएलाई उद्धृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ।
ल्यान्डर सुरक्षित अवतरण गर्ने स्थान भन्दा १०० मिटरमाथि रहेको बेला उसले एउटा थ्री डी लेजर स्क्यानर प्रयोग गरेको थियो र त्यसपछि बिस्तारै तल अवतरण गरेको थियो।
उक्त अवतरणलाई चीयेचियाओ भूउपग्रहले सहयोग गरेको जनाइएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त सफल अवतरणलाई ‘ऐतिहासिक क्षण’ भनेको छ।
सरकारी प्रसारकका अनुसार चाङ(अ को ल्यान्डरले चन्द्रमाको सतहमा छुने बित्तिकै ‘बेइजिङस्थित एइरोस्पेस फ्लाइट कन्ट्रोल सेन्टर तालीले गुञ्जायमान भएको’ जनाएको छ।
सो ल्यान्डरले ३ दिनसम्म चन्द्रमाको सतहमा सामाग्रीहरूको सङ्कलन गर्ने सीएनएसएले जनाएको छ।
त्यसमा कैयौँ ‘इन्जिनियरिङ अन्वेषण, उच्च जोखिम र धेरै जटिलता’ सामना हुने जनाइएको छ।
विज्ञहरू उत्साहित
“हामी सबै विगतमा कसैले पनि देख्न नपाएका चट्टान हेर्न पाउनेछौँ भनेर उत्साहित भएका छौँ,” युनिभर्सिटी अफ म्यान्चेस्टरमा चन्द्रमाको खगोल शास्त्र अध्यापन गराउने प्राध्यापक जन पेर्नेट फिसरले भन्नुभयो।
यसअघि उहाँले अमेरिकाको अपोलो मिशन र विगतका चिनियाँ अभियानहरूले ल्याएका चन्द्रमाका चट्टानहरूको विश्लेषण गर्नुभएको थियो।
तर उहाँले चन्द्रमाको पूर्ण रूपमा फरक क्षेत्रको चट्टानलाई विश्लेषण गर्ने मौकाले ग्रहहरू कसरी बन्छन् भन्ने आधारभूत प्रश्नको जवाफ दिन सक्ने बताउनुभयो।
हालसम्म सङ्कलन गरिएका अधिकांश चट्टान आइसल्यान्ड वा हवाईमा फेला पर्ने गरेकाजस्तै ज्वालामुखीबाट निर्मित खालका थिए।
तर सबैभन्दा सुदूर क्षेत्रको चट्टान फरक खालको पनि हुनसक्ने ठानिन्छ।
प्राध्यापक फिसर थप्नुहुन्छ, “त्यसले हामीलाई केही ठूला प्रश्नहरू ( जस्तै ग्रहहरू कसरी बन्छन्रु किन क्रस्टहरू बन्छन्, सौर्य प्रणालीमा पानीको उत्पत्तिको स्रोत के होरु यिनको जवाफ खोज्न सहयोग पुर्याउँछ।”
पछिल्लो अभियान अन्तर्गत झन्डै २ किलोग्राम सामाग्री सङ्कलन गरेर ल्याउने उद्देश्य राखेको सीएनएसएले जनाएको छ।
दक्षिणी ध्रुवमा अवस्थित एइकेन बेसिनलाई उल्का ठोक्किएर सौर्य प्रणालीमा बनेको सबैभन्दा ठूलो खाडल मान्ने गरिन्छ।
त्यहाँबाट अनुसन्धानमार्फत चन्द्रमाको सबैभन्दा भित्री भागको सामाग्री ल्याउन सकिने प्राध्यापक फिसर ठान्नुहुन्छ।
केन्द्रमा चन्द्रमाको दक्षिणी ध्रुव
चन्द्रमाको दक्षिणी ध्रुव चन्द्र अभियानको नयाँ केन्द्र हो र विभिन्न देशहरू त्यसलाई बुझ्न तत्पर रहेका छन्।
पानीसम्मको पहुँच रहेको स्थापित भए त्यसले चन्द्रमामा मानव शिविर बनाएर वैज्ञानिक अनुसन्धान गर्ने उद्देश्यलाई बल दिन सक्ने ठानिन्छ।
यदि यो मिसनले सफलता प्राप्त गरे, सो यान एउटा विशेष क्याप्सुलमार्फत बहुमूल्य नमुनाहरू सङ्कलन गरेर फर्कनेछ।
सो सामाग्रीलाई विशेष ढङ्गले भण्डारण गरेर त्यसको स्वच्छता सम्भव भएसम्म कायम राख्ने प्रयास गरिनेछ।
चीनका वैज्ञानिकहरूलाई उक्त चट्टानको अन्वेषण गर्ने पहिलो मौका दिइनेछ। त्यसपछि विश्वभरका वैज्ञानिकहरूले पनि त्यस्तो अवसरका लागि आवेदन दिन सक्नेछन्।
चीनले चन्द्रमाबाट नमुनाहरू ल्याउन अन्तरिक्ष अभियान सञ्चालन गरेको यो दोस्रो पटक हो।
सन् २०२० मा चाङ्ग ए फाइभले चन्द्रमाको ओसियानस प्रोसालारम भनिने एउटा कुनोमा पर्ने क्षेत्रबाट १.७ केजी सामाग्री ल्याएको थियो।
चीनले यो दशकमा तीन वटा मानवरहित यानहरू पठाउने लक्ष्य लिएको छ र त्यहाँ उसले पानीको खोजी गर्ने र स्थायी शिविर बनाउनेबारे अन्वेषण गर्दै आएको छ।
बेइजिङको बृहत् रणनीति सन् २०३० को आसपास चिनियाँ अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पाइला टेकाउने रहेको छ।
अमेरिकाले पनि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पुर्याउन चाहेको छ र नासाले सन् २०२६ मा आर्टिमस थ्री मिसन प्रक्षेपण गर्ने घोषणा गरेको छ।