काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रखबारी र खबरदारी दुवै दायित्व नेपाली कांग्रेसमा आएको बताएका छन् ।
नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको लोकतान्त्रिक अधिकारमा हस्तक्षेप गर्न खोजेमा कांग्रेस चूप लागेर नबस्ने चेतावनी कम्युनिष्ट सरकारलाई दिएका थिए । उनले लोकतन्त्रमा पत्रकारको कलम बलियो हुनुपर्ने भन्दै यदि हस्तक्षेप भए प्रतिकार गर्न तयार भएको बताए ।
उनले संचारमाध्यमलाई पनि सशक्त बन्न आग्रह गर्दै कुनै किसिमको दबाबको सामना गर्न तयार रहनुपर्नेमा जोड दिए ।
सभापति देउवाले पार्टीभित्र उत्पन्न विवादमा कडा अभिव्यक्ति दिए । उनले आफू कसैले गेटआउट भन्दैमा आफू पद्धति बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा नरहेको जनाउ दिए । आगामी तीन वर्षमा पार्टीको महाधिवेशन हुने संकेत गर्दै महाधिवेशन नै पार्टीको नेतृत्व चयनको वैधानिक निकाय भएकोतर्फ सबैको ध्यानाकर्षण गरे । उनको सो अभिव्यक्ति पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताए । उनले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संगै राखेर आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा लागिरहेको बताए ।
पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएको बताउदै त्यसतर्फ नलाग्न आग्रह गरे । उनले गुट उपगुटलाई भत्काएर एउटै बनाउन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन लोकतन्त्र, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको लागि लडिरहेको स्मरण गर्दै नेपाली कांग्रेस एक भएको संन्देश बाहिर ल्याउने गरी काम गर्न शिर्ष नेताहरुलाई सुुझाब दिएका थिए ।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले प्रेस फ्रिडमका लागि आफूहरु पनि लड्ने बताए । उनले काँग्रेस लडे पनि नलडे पनि पत्रकारहरु एक भएर लड्ने बताए ।
प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले काँग्रेसले सबै परिवर्तनको अग्रणी भूमिका खेलेको स्मरण गराउदै यसको जुझारुपन हराउन लागेकोमा चिन्ता व्यक्त गरे ।
युनियनको २७ औ स्थापना दिवसको अवसरमा बोल्दै युनियनका बरिष्ठ उपाध्यक्ष दिपक भट्टराई, पत्रकारमहासंघका उपाध्यक्ष बिपुल पोख्रेल तथा युनियनका महासचिव अजयबाबु सिवाकोटीले सरकार प्रेस स्वतन्त्राप्रति निरङकुश बन्दै गए युनियनले कडा कदम चाल्ने बताए ।
युनियनका महासचिव सिवाकोटीले प्रेस युनियनलाई यहासम्म ल्याइ पुर्याउन सहयोग गर्ने अग्रजहरुलाई सम्झिएका थिए ।