Prakash Adhikari June 18, 2024

प्रदीप बस्याल/ बीबीसी न्यूज नेपाली

काठमाडौं, ४ आषाढ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम एनएसीमा फेरि एक पटक पाइलट अभाव चरम भएको उक्त वायुसेवाका प्रवक्ताले बताउनुभएको छ।

दुई जना निलम्बनमा र अन्य केहीले जागिर छाड्दा समस्या देखा परेपछि हालै हङकङका लागि हुने तीन वटा उडान कटौती गरिएको थियो।

हाल नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई-दुई न्यारोबडी र वाइडबडी गरी चारवटा विमान छन् भने आन्तरिकतर्फ दुई वटा ट्विनअटर विमान छन्।

तर एनएसीले ठूला जहाजमा पाइलटको समस्या देखिएपछि केही उडानका सङ्ख्या घटाउनु परेको प्रवक्ता रमेश पौडेलले बताउनुभयो ।

दुई वटा वाइडबडी ए ३३० विमानका लागि एनएसीले क्याप्टेन र कोपाइलटसहित १७ जोर पाइलट हुनुपर्ने तय गरे तापनि हाल ११ जना क्याप्टेन (एक जना प्रशिक्षण लिइरहेका सहित) र ६ जना कोपाइलट मात्र छन्।

अन्तर्राष्ट्रियतर्फकै अन्य दुई न्यारोबडी जहाज ए ३२० तर्फ १६ जोर पाइलट हुनुपर्नेमा १० जना क्याप्टेन र १२ जना कोपाइलट (तीन जना प्रशिक्षण लिइरहेका सहित) रहेका छन्।

एनएसीका प्रवक्ता रमेश पौडेलले बीबीसीसँग भन्नुभयो, अहिले समस्या देखा परेपछि अर्को व्यवस्था नहुन्जेल जिम्मेवारीमा रहेका पाइलटहरूलई बिदा कम लिन आग्रह गरिएको छ। उडानका समय समेत केही खुकुलो पारेर व्यवस्थापन हुँदैछ।ू

एनएसीले हाल सात देशका दश गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

कति चाहिन्छ पाइलट ?

जानकारहरूले मध्यम खालका अन्तर्राष्ट्रिय गन्तव्यमा उड्ने एउटा विमानलाई सामान्य अवस्थामा सञ्चालनमा राख्न कम्तीमा चार जोर पाइलट आवश्यक पर्ने बताउँछन्।

एक जना सेवानिवृत्त क्याप्टेन वाईके भट्टराईले नियमित बिदा, तालिम, बिरामी वा अन्य असामान्य परिस्थितिका बेला त्यतिले समेत नभ्याउने हुँदा विमान कम्पनीहरूले निकै खुकुलो अवस्थामा पाइलटहरूको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ ।

लामो समय बोइङ विमान उडाएको एनएसीले एअरबससँग चार वटा नयाँ विमान किनेर ल्याएदेखि नै सोही अनुसारका तयारी नथाल्दा पाइलट अभावको समस्या कायमै रहेको जानकारहरूको मत पाइन्छ।

“ए३३० र ए३२० किन्ने तयारी हुने बित्तिकै त्यसै गरी पाइलटको योजना बनाएर काम गर्नुपर्थ्यो। त्यतिखेर देखा परेको सङ्कट अझै टरेको छैन”, एनएसीका एक जना सेवानिर्वित्त क्याप्टेन वाईके भट्टराई भन्नुहुन्छ।

उहाँले ती जहाज आएपछि मात्र हतार हतार तालिम लिन पठाइएको र त्यस बेला एक जना समेत क्याप्टेन नरहेको बताउनुभयो ।

भट्टराई थप्नुहुन्छ, “वायुसेवाले नियमित भर्नाको प्रक्रिया चल्ने गरी पाइलटको समूह बनाउनुपर्ने हो। तर हामीकहाँ विमान आइसक्दा पनि पाइलटको टुङ्गो भइरहेको पाइँदैन।”

साना विमान समेत रहेको एनएसीका हकमा राम्रोसँग व्यवस्थापन गर्न जान्दा आफ्नै प्रतिबद्ध पाइलटहरूको नियमित चक्र व्यवस्थापन गर्दै अभाव हुन नदिने अवस्था रहने भट्टराई थप्नुहुन्छ।

पुरानै समस्या, कारण के ?

झण्डै छ वर्षअघि नेपालमा तीन वटा चिनियाँ वाइ १२ विमानहरू ल्याइसक्दा लामो समय पाइलट अभावका कारण तिनका उडान प्रभावित बनेका थिए।

विमान आइसकेपछि चीनबाटै आएका पाइलटहरूको अङ्ग्रेजी भाषा समस्याका कारण भन्दै उनीहरूलाई उडान अनुमति दिइएको थिएन।

२०७८ सालको चैत १८ मा काठमाडौंबाट दुबई उड्नुअघि सहचालकले आफू बिरामी भएको जनाएपछि उक्त रुटमा दुईतर्फी टिकट काटेका करिब ५०० यात्रुहरूले सास्ती बेहोर्नुपरेको थियो।

हरेक पटकमा एउटा चालक दल नै जगेडामा रहने व्यवस्था रहे पनि त्यस दिन वाइडबडी विमानका चार जना नै एकैपटक सिम्यूलेटर तालिमका लागि बाहरेन गएका थिए।

एनएसीका प्रवक्ता पौडेल भन्नुहुन्छ, “विश्वभर पाइलटको बजार अहिले निकै प्रतिस्पर्धी छ। राम्रो तलब भत्ता पाउनासाथ पाइलटहरू विकल्प रोजिहाल्ने गर्छन्। त्यसकै मार हामीहरूलाई समेत परेको हो।”

त्यसमा सहमत वाईके भट्टराईले समेत एनएसीसँग आफ्ना पुराना पाइलट अन्यत्र नजाने अवस्थाका लागि स्वस्थ्य परिस्थिति तयार पार्नुपर्ने बताउँनुहुन्छ।

“अहिले एउटै काम गर्ने पाइलटहरूमा तलबमा निकै फराकिलो विभेद छ। एनएसीकै नियमित प्रक्रियाबाट आउने पाइलटले भन्दा करारको पाइलटको निकै धेरै तलब हुन्छ। त्यो भन्दा पनि निकै धेरै करारमा नियुक्त हुने विदेशी पाइलटको हुन्छ”, उहाँ भन्नुहुन्छ ।

“एउटै संस्थाभित्र एकै खाले काममा ठूलो विभेद हुँदा पाइलटहरूमा निराशा उत्पन्न हुन्छ। उड्डयन क्षेत्रका लागि पाइलट निराश हुनु भनेको सबैभन्दा नराम्रो कुरा हो।”

Share Now