बर्लिन(जर्मनी), १२ आषाढ(एजेन्सी) । युरो कप २०२४ अन्तरगत ग्रुप डी बाट अष्ट्रिया समूह विजेता बन्दै र फ्रान्स उपविजेता बन्दै उत्कृष्ट १६ को अर्को चरणमा प्रवेश गरेका छन्।
गएराति भएको खेलमा पोल्याण्डले फ्रान्सलाई १-१ को बराबरी रोकेपछि फ्रान्स उपविजेता बन्दै अर्को चरणमा पुगेको हो ।
गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो ।
उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो । रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाईन भन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए ।
फ्रान्स बराबरी रोकिएपछि गए राति भएको अर्को खेलमा नेदरल्याण्ड्स माथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो ।
३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाले ६ अंक हासिल गरेको छ भने आफ्नो अन्तिम खेलमा पोल्याण्डसँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक पाएको छ ।
नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रहेको छ । नेदरल्याण्ड्स पनि उत्कृष्ट ४ मा तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने को सम्भावना बलियो छ । पोल्याण्ड भने १ अंकसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।