बर्न डिबसम्यान जुनिअर / बीबीसी न्यूज
वाशिङ्टन(संयुक्त राज्य अमेरिका), १२ आषाढ । ब्रिटिश जेलबाट रिहा हुनभएका विकिलीक्सका संस्थापक जुलिअन असान्ज अदालतमा उपस्थित हुन थाईल्यान्डबाट अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ।
अमेरिकी अदालतमा उपस्थित भई उहाँले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध स्वीकार्नुपर्ने बताइएको छ।
लामो कानुनी उतारतढावपछि अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौताअनुरूप असान्ज यूकेको जेलबाट छुट्नुभएको बताइएको छ।
असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो।
अमेरिकाले वर्षौँदेखि विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचना उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रले मानिसहरूको ज्यान जोखिममा पारेको दाबी गर्दै आएको थियो।
असान्जले पछिल्ला पाँच वर्ष ब्रिटेनको जेलमा बिताउनुभयो। उहाँले त्यहाँ अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लड्नु भयो।
विकिलीक्सले के भन्यो ?
बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नुपर्ने छैन। अमेरिकाले यूकेमा उहाँले बिताएको थुनाको अवधिलाई गणना गरेर त्यस्तो छुट दिने बताइएको छ।
अमेरिकी न्याय मन्त्रालयको पत्रअनुसार असान्ज अस्ट्रेलिया फर्किनुहुने छ।
विकिलीक्सले सामाजिक सञ्जाल एक्समा असान्जले सोमवार एक हजार ९ सय एक दिनपछि बेलमार्श जेलको सानो बन्दी कोठा छाडेको लेखेको छ।
विकिलीक्सले साझा गरेको भिडिओमा जिन्स र नीलो शर्ट लगाउनुभएका असान्जलाई विमानमा उहाँ प्रस्थान गर्नुअघि गाडीमा लादैँ गरेको देखाइएको छ।
असान्जकी श्रीमतीको भनाइ
उहाँकी श्रीमती स्टेला असान्जले एक्समा लेख्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिनुभएको छ।
उहाँले ती समर्थकहरूले ‘यसलाई साकार पार्न वर्षौँदेखि काम गरेको ‘ उल्लेख गर्नुभएको छ।
आफ्ना श्रीमान् जेलमुक्त भएकोमा आफू अत्यन्तै हर्षित भए पनि कानुनी लडाइँ अझै नसकिएकोमा चिन्तित भएको उहाँले बताउनुभएको छ।
अमेरिकासँग भएको सम्झौताअनुरूप उहाँलाई एउटा आरोपमा दोषी ठहर गरिनेछ। त्यसको अन्तिम निर्णय बुधवार नोर्दन मारियाना आइल्यान्डस्को एउटा अदालतमा हुने ठानिएको छ।
‘यूएस कमनवेल्थ’मा रहेको उक्त अदालत अस्ट्रेलियाबाट नजिकमा पर्छ। यो हवाई वा अमेरिकी सङ्घीय अदालतहरूभन्दा धेरै नजिक छ।
एएफपी समाचार संस्थाले अस्ट्रेलिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै यो मुद्दा ‘धेरै लामो समयसम्म तन्किएको’ जनाएको छ।
उहाँका वकिल रिचर्ड मिलरसँग सीबीएसले सम्पर्क गरेको थियो। तर उहाँले टिप्पणी गर्न अस्वीकार गर्नुभयो।
बीबीसीले पनि उनका अमेरिकास्थित वकिललाई सम्पर्क गरेको थियो।
उहाँ र उहाँका वकिलहरूले लामो समयदेखि असान्जविरुद्धको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आउनुभएको छ।
गत एप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडनले असान्जविरुद्धको मुद्दा फिर्ता लिन अस्ट्रेलियाले गरेको अनुरोधलाई आफूले विचार गरिरहेको बताउनुभएको थियो।
एक करोडभन्दा बढी दस्तावेजको ुचुहावटु
यसअघि ब्रिटिश उच्च अदालतले असान्जले अमेरिकामा सुपुर्दगीको विरुद्धमा नयाँ अपिल गर्नसक्ने र आफ्नो सम्भावित मुद्दाको सुनुवाइ कसरी गरिन्छ तथा उनको अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन हुँदैन भन्ने अमेरिकी आश्वासनविरुद्ध चुनौती दिन सक्ने आदेश दिएको थियो।
त्यो आदेशपछि उहाँकी पत्नी स्टेलाले पत्रकार र समर्थकहरूलाई बाइडन प्रशासनले ‘यस्तो लाजमर्दो अभियोग लगाउने कुराबाट आफूलाई टाढा राख्नुपर्ने’ बताउनुभएको थियो।
अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित गोप्य अमेरिकी सैन्य दस्तावेजहरू र कूटनीतिक पत्रहरू सार्वजनिक गरेकोमा अमेरिकी अभियोजनकर्ताहरूले सुरुमा असान्जलाई जासुसीसम्बन्धी कानुनअन्तर्गत १८ वटा मुद्दा लगाउन चाहन्थे।
असान्जले सन् २००६ मा विकिलीक्स स्थापना गर्नुभएको थियो।
अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटको दाबी छ।
अमेरिकी सरकारले त्यसलाई ‘उसको इतिहासमा गरिएको गोप्य सूचनाको सबैभन्दा ठूलो चुहावट’ को रूपमा लिने गरेको छ। सन् २०१० मा विकिलीक्सले इराकमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको एउटा भिडिओ सार्वजनिक गर्यो जसमा बग्दादमा १८ सर्वसाधारण नागिरक मारिएको देखिएको थियो।
यो वेबसाइटले अमेरिकी सेनाका पूर्वगुप्तचर विश्लेषक चेल्सी म्यानिङले उपलब्ध गराएकी हजारौँ गोप्य दस्तावेज पनि प्रकाशित गरेको थियो।
राष्ट्रपति बाराक ओबामाले उहाँको सजाय घटाइदिनुअघि म्यानिङलाई ३५ वर्षको जेल सजाय तोकिएको थियो।
असान्जले स्वीडेनमा बलात्कार र यौन दुर्व्यवहारका छुट्टाछुट्टै अभियोगहरूको पनि सामना गर्नुभयो। ती आरोपहरूलाई उहाँले अस्वीकार गर्नुभएको थियो।
उहाँले एक्वडोरको लन्डन दूतावासमा शरण लिएर लुकेर सात वर्ष बिताउनुभयो । त्यस बेला उहाँले स्विडेनी मुद्दाले उहाँलाई अमेरिका पुर्याउन सक्ने दाबी गर्नुभएको थियो।
स्विडेनी अधिकारीहरूले सन् २०१९ मा ती मुद्दाहरू फिर्ता लिए। त्यसको कारणका रूपमा उनीहरूले मुख्य उजुरी दर्ता भएको समय धेरै भएको बताएका थिए।
तर ब्रिटिश अधिकारीहरूले उहाँलाई हिरासतमा लिए। स्वीडनमा सुपुर्दगी गर्नका लागि अदालतसमक्ष आत्मसमर्पण नगरेको भन्दै उहाँमाथि मुद्दा चलाइएको थियो।