काठमाडौं, १२ आषाढ । देशभर मनसुन सक्रिय भए लगत्तै प्राकृतिक प्रकोप सुरु भएको छ । नियमित बर्षा नभए पनि ठाउँठाउँमा परेको अति बर्षाले पहिरो जाँदा लमजुङमा तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् भने कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ । त्यहाँ एक घाइते भएका छन् । ओखलढुंगामा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोरड. र सुनसरीको सीमामा पर्ने बूढीखोलाले एकै परिवारका ४ जना बगाएको छ । जसमध्ये १ को मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो । अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ । रुद्रमान र पञ्चकुमारी ससुरा बुहारी हुन् भने इच्छा रुद्रमानका भाइकी नातिनी हुन् । पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले सकुशल छन् ।
क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेका अनुसार गए राति २ः३० बजे पहिरो गएको हो । राति नै प्रहरी चौकी मालिङलाई खबर गरेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष जमिमाया गुरुङलगायतको टोली उद्धारको पहलमा लागि घटनास्थलमा जाँदै गरेको उहाँले बताउनुभयो ।
स्थानीय जुना घलेका अनुसार रुद्रमानकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी छिन् । “पानी बेस्सरी परिरहेको छ, पहिरो गएको ठाउँमा जान सकिएको छैन”, उहाँले भन्नुभयो–“प्रहरी चौकी मालिङबाट दुई प्रहरी राति नै उद्धारका लागि आउनुभएको छ, श्रोतसाधनको अभावले पहिरो पन्छाउन सकिएको छैन ।” सो ठाउँमा ६ वटा घर रहेका छन् । तीन घर भने पहिरोबाट जोगिएका छन् ।
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।
यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।
ओखलढुंगामा १ जनाको मृत्यु, २ घाइते
ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना घाइते भएका छन्।
चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन्।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेका प्रहरीले जनाएको छ।
बूढीखोलाले एकै परिवारका ४ जना बगायो, १ को मृत्यु, २ जना बेपत्ता
मोरङ र सुनसरीको सिमानामा पर्ने बूढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ।
बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन्। त्यसमध्ये एकको मृत्युभएको छ।
फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिनुभयो।
यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्।
बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (मृतक महिलाकी सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी हुनुहुन्छ। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो।
–––