काठमाडौं, १२ आषाढ । श्रीलंकामा आगामी जुलाईमा हुने एसीसी महिला एसिया कप २०२४ को उद्घाटन खेलमा नेपाली चेलीहरु युएईसंग भिड्ने भएका छन् ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा हुनेउद्घाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।
तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई प्रतियोगितामा समावेश गरेको छ । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी २० एसिया कप खेलेको थियो । यसपटकको एसिया कप पनि टी २० नै हुने छ ।
एसीसी कपमा प्रतिस्पर्धा गर्ने नेपाली महिला टोली अहिले प्रशिक्षणमा व्यस्त छ ।