बर्लिन(जर्मनी), १३ आषाढ । युरो कप २०२४ को समूह एफ को अन्तिम खेलमा चर्चित फुटबल खेलाडी क्रिचियानो रोनाल्डोको पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २ का विरुद्ध ० गोलको हार भएपनि पोर्चुगलले समूह विजेता बन्दै शीर्ष १६ को यात्रा तय गरेको छ ।
जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १ १ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारेपनि उनले जारी युरोमा गोलको खाता खोल्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले अग्रता दिलाए । पोर्चुगलका एन्टोनियो सिल्भाले दिएको गलत पासमा बढेको आक्रमणमा जर्जेस मिकाउताद्जेले दिएको अन्तिम पासमा उनले गोल गरे ।
दोस्रो हाफको ५७ औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । सिल्भाले नै पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गरेका थिए । गोल्डेन बुट दौडमा अघि रहेका उनको जारी प्रतियोगितामा यो तेस्रो गोल हो ।
टर्कीद्धारा चेक गणराज्य पराजित
समूहको अर्को खेलमा टर्कीले चेक गणराज्यलाई २ १ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । चेक गणराज्यले पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि कडा चुनौती पेश गरेको थियो । तर इन्ज्युरी समयको पाँचौ मिनेटमा चेन्क तोसुनले विजयी गोल गरे । त्यसअघि कप्तान हाकान चाल्हानोग्लुको गोललाई चेक गणराज्यका कप्तान टोमस सुचेकले बराबरी गरेका थिए ।
पोर्चुगल र टर्की समान ६(६ अंकका साथ क्रमशस् शीर्ष २ स्थानमा रहे । पहिलो पटक युरोमा छनोट भएको जर्जिया पनि ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो । १ अंक पाएको चेक गणराज्य भने प्रतियोगिताबाट बाहिरिएको छ ।


















