ट्रिनिडाड (वेष्टइण्डिज), १३ आषाढ । अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी २० विश्वकपको फाइनलमा पुगेको छ।
बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो।
जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो।
यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो।
सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो।
अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो।
सेमिफाइनल खेल
आजको खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।
दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो।
रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे।
ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भएका थिए ।
त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाउँदा अलआउट भएको थियो।
यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो।
समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु टिक्न सकेन।
अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अन्य खेलाडीमा गुलबादिन नायबले ९, क्याप्टेन रसिद खान र करिम जनत ८। ८,इब्राहिम जर्दान, नान्गेलिया खरोटे,नवीन उल हक र फजल हक फारुकीले २ । २ जोडे । मोहम्मद नावी र नूर अहमद खाता नखोली शून्य रनमा आउट भए ।
अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए। तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए।
अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसन र तबरैज साम्सीले समान ३ विकेट लिए। कागिसो रवाडा, एनरिच नोर्टेजले समान २ विकेट झारे।
समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्लाई ४ विकेटको जितेको थियो।
समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले पराजित गर्दा नेपालमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो।
दक्षिण अफ्रिकाले सुपर ८ मा आयोजक अमेरिकालाई १८ रनले हराउँदा इङल्यान्डविरुद्ध ७ रनको जित निकालेको थियो।
उसले सुपर ८ मा नै अर्को आयोजक वेस्ट इन्डिजलाई डिएलएस मेथडमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
उता अफगानिस्तान भने सुपपरप ८ भारतसँग ४७ रनले पराजित हुँदा दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पाखा लगाएको थियो।
सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनको जित दर्ता गर्दै अफगानिस्तानले विश्वकपको इतिहासमा नै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो।
समूह चरणमा न्युजिल्यान्ड र सुपर ८ मा अस्ट्रेलियालाई हराएको अफगानिस्तानको टोली उच्च मनोबलमा थियो ।
अफगानिस्तानले समूह चरणमा युगान्डालाई १ सय २५ रनले तथा दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ रनले हराउँदै सानदार जित निकालेको थियो।
पपुवा न्यु गिनीलाई ७ विकेटले हराएको उसले समूह चरणको अन्तिम खेलमा आयोजक वेस्ट इन्डिजसँग भने १ सय ४ रनको फराकिलो हार बेहोरेको थियो।
आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ ।