Prakash Adhikari June 27, 2024

सानोथिमि(भक्तपुर), १३ आषाढ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ ।

परीक्षा नियन्त्रक (कक्षा १०)का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

कसरी छिटो जानकारी लिने?

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

कार्यालयले नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

Share Now