भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये १ सय ८६ जनाले ४ जिपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । २ सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिनुभयो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।
कसरी छिटो जानकारी लिने?
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।
कार्यालयले नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

–––