Prakash Adhikari June 30, 2024

चितवन, १६ असार : चितवनमा १ हजार ७ सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार ५ सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये १ हजार २ सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय ३ महिलामा डेङ्गु सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।

यस्तै, ठेगना नखुलेका १ सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका ३ सय ६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । एकजनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो । सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेङ्गु देखिएको छ । खैरहनी नगरपालिकामा १  सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा २ सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

डेङ्गु रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेङ्गु सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिनुभयो ।

Share Now