काठमाडौँ, १७ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताउनुभएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) को काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौँ । त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ । यो कार्यान्वयन भयोभने धेरै समस्या हल हुन्छन् ।”
फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताउनुभयो ।
“जनता निरास छन् । श्यया पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु”, स्वास्थ्यमन्त्रीले भन्नुभयो ।
उहाँले बिमामा धेरै महाभारत चलिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बिमालाई स्वायत्त गरिदिएको बताउनुभयो । आफू अग्रसर भएर बिमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बिमामा भएका बेथितिको सुधार गर्ने बताउनुभयो । सबै नागरिकलाई बिमामा समेट्न आफूहरू लाग्ने बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘‘अस्पतालहरूको सुधार नै मेरो मुख्य लक्ष्य हो । सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु । सुधार गर्नको निमित्त अघि बढेका छौँ । राजनीति स्थिर छैन, अस्थिरता छ । जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठुलो ठुलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन । त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ । सबै कुरा बुझेका छैनौँ तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ । अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवहरूको नेतृत्वमा हामीले विभिन्न शीर्षकमा खटाएका छौँ । जुन एउटा रिपोर्ट आइसक्यो ।’’
उहाँले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने उर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताउनुभयो ।