Prakash Adhikari July 9, 2024

कोलम्बो(श्रीलंका), २५ आषाढ । एसीसी महिला एशिया कप २०२४ मा प्रतिस्पर्धा गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्ने भएको छ ।
नेपाली टोलीले श्रीलंका क्रिकेट बोर्डको विकास टोली विरुद्धको तीन खेलको श्रृखलाको पहिलो खेल आजबाट सुरु हुँदै छ ।

खेल नेपाली समय अनुसार १०ः३० बजे सरी भिलेजमा हुने छ । अरु दुई खेला जुलाई १० र १६ मा हुने छ ।

जुलाई १९ देखि सुरु हुने महिला एशिया कपमा नेपाल भारत, पाकिस्तान र युएई सँगै समूह ए मा रहेको छ ।

प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।

यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

कप्तान इन्दु वर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी रहेका छन् ।

Share Now