मियामी(फ्लोरिडा), ३० आषाढ(एजेन्सी) । कोपा अमेरिका २०२४ को फाइनल खेल सोमबार बिहान हुँदै छ । अमेरिकी उपमहाद्धीपको फुटबलको यो प्रतिष्ठत उपाधि जित्न वर्तमान विश्वका सर्वप्रिय खेलाडी लियोनेल मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली कोलम्वियाको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्दै छ।
अर्जेन्टिना र कोलम्वियाबीको खेल अमेरिकाको हार्ड रक स्टेडियम मियामी फ्लोरिडामा नेपाली समयअनुसार सोमबार बिहान ५ः४५ बजेपछि हुनेछ ।
सुरुवाती चार फाइनल गुमाएका मेस्सी यसपटक पनि च्याम्पियन बन्दै राष्ट्रिय टोलीबाट ह्याट्रिक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।
क्लब फुटबलमा दर्जनौं उपाधि चुमिसकेको मेस्सीले सिनियर राष्ट्रिय टोलीबाट पहिलोपटक सन् २०२१ को कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यसको एक वर्षपछि मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले एसियाली राष्ट्र कतारमा भएको फिफा विश्वकपको उपाधि जित्यो । जुन मेस्सीको पहिलो कोपा अमेरिका र फिफा विश्वकप उपाधि थियो ।
मेस्सीले अर्जेन्टिनाको उमेर समूहबाट फिफा युथ विश्वकप (यु–२०) र यु–२३ मा ओलम्पिक गेम्समा स्वर्ण जितेका थिए ।
त्यसबाहेक मेस्सीले सन् २०२२ मै दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) र युरोपियन फुटबल फेडेरेसन (युइएफ) को संयुक्त आयोजनामा भएको फाइनालिसिमाको उपाधि जिते । त्यो कोपा अमेरिका र युरो कपको च्याम्पियनबीचको फाइनल थियो ।
अर्जेन्टिना र कोलम्विया दुवै अपराजित रहँदै फाइनलमा पुगेका टोली हुन् । यि दुई टोलीबीचको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
सन् २०१४ को फिफा विश्वकपको गोल्डेन बुट विजेता हामेस रोड्रिग्वेजले यसपालीको कोपामा अमेरिकामा सानदार प्रदर्शन गरेका छन् । गत नोभेम्वरमा भएको विश्वकप छनोटमा उरुग्वेसँग २–० ले पराजित भएयता अर्जेन्टिना अपराजित छ । जसमा ९ जित र एक बराबरीको नतिजा छ ।
यता २०२२ मा भएको विश्वकप छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता कोलम्विया पछिल्लो २७ खेलमा अपराजित छ । जसमा २१ जित र ६ बराबरीको नतिजा छ ।