Prakash Adhikari July 15, 2024

पेन्सिल्भेनिआ(संयुक्त राज्य अमेरिका), ३१ आषाढ (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति तथा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ।

उहाँको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ।

उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।

त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गर्नुभएको थियो।

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उहाँको उपचार गरिरहेको जानकारी दिनुभएको छ।

ट्रम्पले लेख्नुभएको छ, “सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो।धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।”

उहाँलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उहाँको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

गोली प्रहारपछि पूर्वराष्ट्रपति ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर उहाँका लागि पर्खिरहेको गाडीमा राखियो। त्यसपछि ट्रम्प न्यूजर्सीस्थित आफ्नो घरमा फर्किनुभयो।

गोली प्रहारपछिका विवरण

पूर्वराष्ट्रपति ट्रम्पले उहाँको दाहिने कानको माथिल्लो भागमा गोलीले चोट पुर्‍याएको सामाजिक सञ्जालमार्फत बताउनुभएको छ।

उहाँ माथि गोली प्रहार भएको घटनापछि एकजनाको ज्यान गएको र अन्य दुईजना घाइते भएको बताइएको छ। सुरक्षा अधिकारीहरूले तीनै जना वयस्क पुरुषहरू रहेको जनाएका छन्।

एफबीआइले ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्ध बन्दूकधारीको पहिचान गरिएको बताएको छ। २० वर्ष उमेरका थमस म्याथ्यू क्रूक्स नामक ती व्यक्तिलाई सिक्रेट सर्भिसका अधिकारीले गोली हानी मारिदिएका थिए।

हमलाकारी पेन्सिल्भेनिआ राज्यको बेथेल पार्क निवासी बताइएको छ। उक्त नगर घटनास्थल बट्लरबाट ७० किलोमिटर पर अवस्थित छ।

केहिबेर अघिको पत्रकार सम्मेलनमा एफबीआइका फिल्ड अफिसर केभिन रोजेकले गोली प्रहारको घटनालाई ट्रम्पको हत्या गर्ने प्रयासका रूपमा लिइएको बताउनुभएको थियो।

एक सन्दिग्ध मारिए

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई यूएस सिक्रेट सर्भिसका अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताउनुभएको छ।

उहाँका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन्।

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन्।

गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताउनुभयो। उहाँका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ।

अमेरिकीहरूलाई ‘एकताबद्ध’ रहन पूर्वराष्ट्रपतिको आह्वान

 

यसै बर्ष हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार ट्रम्पले आफ्नो एउटा पछिल्लो विज्ञप्तिमा अमेरिकीहरूलाई ‘एकताबद्ध रहन’ आग्रह गर्दै आफूहरू उक्त घटनाबाट भयभीत नहुने बताउनुभएको छ।

अमेरिकी संसद्को एक निगरानी समितिले ‘अमेरिकालाई जबाफ चाहिएको’भन्दै सिक्रेट सर्भिसका निर्देशकलाई बोलाएको छ।

एफबीआईले आफूहरूले यस घटनालाई हत्या प्रयासका रूपमा हेरिरहेको जनाएको छ।

एफबीआईको विज्ञप्तिले यस घटना एउटा सक्रिय र जारी अनुसन्धान भएको जनाएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ट्रम्प र संदिग्ध हमलाकारीबीच झण्डै २०० मिटरको दूरी रहेको थियो।

प्रहरी के भन्छ ?

पेन्सिल्भेनिआ प्रहरीले गोली प्रहारको घटनापछि थप जोखिम नरहेको जनाएको छ।

स्पेसल एजेन्ट केभिन रोजेकले गोली प्रहारको यस घटनालाई एउटा हत्या प्रयासका रूपमा हेरिराखिएको पुष्टि गर्नुभएको छ।

रोजेकले सन्दिग्ध व्यक्तिले कुनै परिचयपत्र नबोकेको बताउँदै अनुसन्धानकर्ताहरूले डिएनएमार्फत औपचारिक रूपमा तिनको पहिचान गरेको बताउनुभयो।

राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार ट्रम्पले नोभेम्बरको निर्वाचनका लागि मत जता पनि ढल्किन सक्ने राज्य पेन्सलभेनियाको बट्लरमा समर्थकहरूलाई सम्बोधन गर्न सुरु गर्दै गर्दा गोली प्रहार भएको थियो।

Share Now