Prakash Adhikari July 15, 2024

काठमाडौँ, ३१ असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि आजै शपथ लिने

प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ ।

ओली क्याबिनेटमा पहिलो चरणमा दुई उपप्रधानमन्त्री रहने तय भएको छ । नेकपा एमालेबाट विष्णुपौडेल अर्थसहित उपप्रधानमन्त्री बन्नुहुने छ भने नेपाली कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाउँदै छ ।

सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आइतबारै मन्त्रालय भागबण्डा टुंगो लागेको थियो ।

भागवण्डा अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचनाप्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

मन्त्रालय भागबण्डा टुंगिए पनि मन्त्रीहरुको अन्तिम नामावली भने आइतबार टुंगिन सकेन । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

यसैबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।

सो समूहले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको बताइएको छ ।

संस्थापनपक्षबाट डा.आरजू देउवा परराष्ट्र मन्त्री र रमेश लेखक गृहमन्त्री बन्ने पक्कापक्की छ भने रमेश रिजाल पनि मन्त्री बन्ने निश्चितै छ । सहमहामन्त्री किशोर राठौर पनि मन्त्री बन्न कम्मर कसेर लाग्नुभएको छ ।

यता एमालेबाट योगेश भट्टराई र पृथ्वीसुब्बा गुरुड.को नाम पनि आएको छ । मन्त्री चयनमा प्रधानमन्त्री ओलीलाई कसैको सुझाव नचाहिने भएकोले उहाँले जसजसलाई छान्नुहुन्छ , उनीहरुले नै सरकारमा स्थान बनाउने छन् । पहिलो चरणमा अन्य साना पार्टीहरुबाट प्रतिनिधित्व नहुने भएको छ ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिनुभएको थियो ।

 

–––

Share Now