काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकारप्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बधाई तथा शुभकामना दिनुभएको नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिनुभएको छ ।
।
सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो सम्बन्धलाई थप सुमधुर बनाउन प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले दुवै देशका जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न निकट रहेर काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।
उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।


















