काठमाडौं, १ साउन । श्रीलंकामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ ।
तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्ट स्क्वाड लाई दुई रनले पराजित गरेको छ । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले १ सय १२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले २० ओभरको निर्धारित खेलमा १ सय १० रन मात्रै बनाउन सक्यो ।
श्रीलंकाका लागि भी बालासूर्याले ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । आर नेर्थान्जलीले २६ र सेवान्दनीले १० रन बनाए ।
नेपालका लागि बलिङमा कविता जोशीले सर्वाधिक ३ विकेट लिइन् । कृतिका मरासिनीले २ र कविता कुँवरले १ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि रुबिना क्षेत्री बेलबासेले ३ छक्का र १ चौकासहित सर्वाधिक ३७ रन बनाइन । बिन्दु रावलले २०, सीता राना मगरले १५, इन्दु बर्माले ११ र सम्झना खड्काले १० रन बनाए।
नेपाललाई रोक्ने क्रममा श्रीलंकाकी डि थेनाकोनेले सर्वाधिक दुई विकेट लिइन् । आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले समान १ । १ विकेट लिए ।
श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन् ।
नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते समुह चरणको अन्तिम खेल खेल्नेछ ।


















