Prakash Adhikari July 23, 2024

 

दाम्बुला(श्रीलंका), ८ साउन । एसीसी महिला टी २० एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई भारतले विशाल लक्ष्य प्रस्तुत गरेका् छ ।

 

दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो र नेपाललाई १ सय ७९ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो ।

भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् ।

यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् ।

नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

विकेट लिन संघर्ष गरेको नेपालले १४औं ओभरको अन्तिम बलमा पहिलो विकेट लिएको थियो । सीता राना मगरको बलमा हेमालथा लङ(अनमा रुबिना क्षेत्रीद्वारा क्याच आउट भएकी थिइन् । यस्तै १५औं ओभरमा सीताले नै शफालीलाई आउट गर्दै दोस्रो विकेट लिएकी थिइन् । शफाली काजोल श्रेष्ठद्वारा क्याच आउट भएकी हुन् ।

१९औं ओभरमा एस सजनालाई कविताले एलबिडब्लु आउट गरेकी थिइन् ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले नेट रनरेट बलियो बनाउनु पर्ने हुन्छ । त्यसका लागि नेपालले निकै छिटो लक्ष्य पूरा गर्नु पर्ने हुन्छ । तर त्यो संभावना टाढिदै गएको छ । भारत र पाकिस्तान समूह विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना प्रबल भएको छ ।

Share Now