काठमाडौं, ९ साउन । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको नाइन एन एएमई जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल छेउमा दुर्घटनाग्रस्त भएको छ ।
जहाज भुईँ छोड्नासाथ दुर्घटनामा परेको विमानस्थलको नियन्त्रण कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो। अहिले उद्धारको काम जारी छ ।
उडानको लागि जमिन छोडेको जहाजमा बुधबार बिहान ११ बजे एकाएक धूवाँको मुस्लो निस्केको थियो ।
जहाजबाट धूवाँको मुस्लो निस्कनासाथ त्रिभुवन विमानस्थलको वारुणयन्त्र परिचालन गरेर आगो नियन्त्रणको प्रयास भएको छ।
त्रिभुवन विमानस्थलका अधिकारीहरुले विमानमा आलो लागेपछि सुरक्षाकर्मी खटिएको बताएका छन् ।
दुर्घटनाग्रस्त जहाजबाट विमान चालक ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको बताइएको छ । उहाँलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।