थिम्पु(भुटान), १५ श्रावण । नेपाली महिला र पुरुष टिम काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिन सोमबार भुटान पुगेको छ।
च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ ।
च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडी रहेको छ । दुबै टोलीलाई नेपाल पुलिस क्लबका प्रशिक्षक रूपेश बिष्टले प्रशिक्षण दिनेछन् ।
च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ ।
महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् ।
पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।
दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।



















