काठमाडौं, २३ साउन । नेपालको शेयर बजारले आज फेरी गति समातेको छ । मंगलबार १४५ अंकले आरोलो लागेको धितोपत्र बजार परिसूचक आज १०८ अंकले बढेर बन्द भएको छ।
यस दिन धितोपत्र बजार परिसूचक १०८.३५ अंक बढेर २७५९.६७ विन्दुमा पुगेको छ।
हिजोको तुलनामा धितोपत्र बजार परिसूचकमा बढोत्तरी भएपनि आज कारोबार रकम भने घटेको छ । आज ३ सय ३० स्टकको ३ करोड ८० लाख ४१ हजार कित्ता शेयर खरिदबिक्रीबाट १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ११ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी, दोल्टी पावर कम्पनी, सिटी होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज एनआईसी डिबेञ्चर(८३/८४), लक्ष्मी भ्यालु फण्ड २, एनएमबी ५०, एनएमबी डिबेञ्चर ८९/९०, एनआईबी समृद्धि फण्ड २, निफ्रा ऊर्जा डिबेञ्चर ८५/८६, सनराइज फोकस इक्विटी फण्ड, कुमारी सबल योजना र प्रभु बैंक डिबेञ्चर ८४ को मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ५६ करोडको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ७.८९ प्रतिश बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ७.६३ प्रतिशत बढेको छ भने व्यापार, जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।


















