विदुर(नुवाकोट), २३ साउन । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
उक्त हेलिकप्टरमा चालकबाहेक चार चिनियाँ नागरिक सवार रहेको विवरण सार्वजनिक भएको छ।
दुर्घटनास्थल पुग्नुभएका शिवपुरी गाउँपालिका ७ का वडाध्यक्ष वीरबहादुर तामाङले चारवटा शव निकालिसकिएको र अर्को निकाल्न लागिएको बताउनुभएको छ।
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले घटनास्थलमा एक महिला र चार पुरुषको शव फेला परेको बताउनुभएको थियो।
दुर्घटनाको कारण खुलिसकेको छैन।
दिउँसो १ः५४ मिनेटमा काठमाडौंबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ।
“उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रुहरू रहेको विवरण छ,” भुलले भन्नुभयो।
उहाँका अनुसार दुर्घटनास्थलमा तीनवटा हेलिकप्टर पठाइएको छ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताउनुभएको छ।
दुई साताअघि त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको एउटा यात्रुवाहक विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा विमानचालक मात्र जोगिएका थिए।
गत वर्ष मे महिनामा सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु भएको थियो।
सोही वर्ष जुलाईमा सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु भएको थियो।
यसअघि सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।
गत वर्ष सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका(४ सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाा परेको थियो ।
केही वर्षअघि नेपालमा हेलिकप्टर उडानहरूको खराब रेकर्ड भन्दै युरोपेली सङ्घ (ईयू) ले आफ्नो हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा नेपालमा १० वर्षमा बर्सेनि हेलिकप्टर दुर्घटना हुँदै आएको देखिन्छ।
नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुने गरेका छन्।
अहिले पर्यटकहरूमाझ हेलिट्रेक पनि लोकप्रिय भएको पाइन्छ। पर्यटकहरू हेलिकप्टर चढेर हिमाली भेग जाने गरेका छन्।
(बीबीसीबाट)


















