Prakash Adhikari August 14, 2024

 

काठमाडौं, ३० साउन । नेपालको शेयर बजार फेरी उकालो लागेकोे छ । हिजो मंगलबार ओरालो लागेको शेयर बजार आज फेरी उकालो लागेको हो ।

बुधबार धितोपत्र बजार परिसूचक ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुगेको छ।

आज कारोबार रकम पनि बढेको छ। मंगलवार २१ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन ३ सय ३२ स्टकको ५ करोड १२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्रीबाट २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुतर्फ आकर्षित भएको देखिन्छ। यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ ।फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड र माइक्रो फाइनान्स उपसमूहको परिसूचक घटेका छन् ।

यस दिन ११ स्टकको सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको साढे ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अन्य उच्च रकमको कारोबार हुनेमा नेपाल फाइनान्स( ६१ करोड रुपैया) सानिमा हाइड्रो(५८ करोड रुपैया), निफ्रा(४७ करोड रुपैया), अपर(४६करोड रुपैया) एचआईडिसीएल (४३ करोड रुपैया) र अरुणभ्याली (४० करोड रुपैया) रहेका छन् ।

Share Now