Prakash Adhikari August 14, 2024
काठमाडौं, ३० साउन । बर्षाको कारण गएको पहिरोले विभिन्न सडक मार्गहरु अवरुद्ध भएका छन् । राष्ट्रिय समाचार समितिका जिल्ला संवाददाताहरुले पठाएको समाचारमा पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक ,कालिगण्डकी करिडोर र बुद्धसिंह सडक अबरुद्ध भएको जनाइएको छ ।

नारायणगढ–बुटवल सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो । सडक सञ्चालनको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।

दुई सातादेखि अवरुद्ध
पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् ।
जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।
गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी–तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम ९¥याप थिरी० ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।
कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए । करिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सञ्चालन हुने यायातातका साधन पनि बन्द भएका उहाँले बताउनुभयो । करिडोर अवरुद्धपछि जैमिनी नगरपालिका, बरेङ गाउँपालिकासहित बागलुङ नगरपालिकावासी प्रभावित भएका छन् ।
बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।
बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरा गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिराले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताउनुभयो । “एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ”, उहाँले भन्नुभयो, “पहिराको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ ।”
स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही राजमार्गका केही पहिरा सफा गरेका छन् । आज बिहान स्थानीयले पहिराले खसेको ढुङ्गा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताउनुभयो ।
गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन् ।
गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ । उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ ।
पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दूरी पर्ने स्थानीय मगरले जानकारी दिनुभयो ।
Share Now