Prakash Adhikari August 22, 2024

काठमाडौं, ६ भाद्र। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

आईएमई लिमिटेड र जीएमई मर्जरपछि पौडेलले आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेर आईएमई लाइफमा प्रवेश गर्नुभएको हो ।

आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्नुहुन्छ ।

आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आईएमई डिजिटल सोलुसन लगायत कम्पनीमा सञ्चालकका रूपमा समेत पौडेल आवद्ध हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गर्नुभएका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापन विषयमा एक्जुकेटिभ कोर्स गर्नुभएको छ ।

पौडेलेले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गर्नुभएको छ ।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आईएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने पौडेलले बताउनुभयो।

Share Now