काठमाडौं, ६ भाद्र ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से सामान्य अंक बढेपनि ७ स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
यस दिन सिद्धार्थ बैंकको ऋणपत्र भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढेर २९७४.४६ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १८ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३३ स्टकको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्रीबाट१९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको ४ करोड ९ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।
कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


















