काठमाडौं, ७ भाद्र । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज उद्योगपति र व्यापारीहरुसंग अन्तरक्रिया गर्नुहुने भएको छ ।
नेकपा एमाले निकट उद्योगी र व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज बिहान ११ बजे काठमाडौंको होटल एभरेष्टमा अर्थतन्त्रको विस्तार र विकास शीर्षकमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै छ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीका अलवा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार एवम् पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा पनि उपस्थित हुनुहुने आयोजकहरुले जानकारी दिएका छन् ।
यस बर्ष नेपाल राष्ट्र बैंकले उदार मौद्रिक नीति ल्याएकोले पूँजी बजार तेज गतिमा बढेको छ भने घरजग्गा कारोबारले गति लिन थालेको छ । लगानीका क्षेत्रहरुमा व्यवसायीहरुले आत्मविश्वासका साथ कदम चालेमा अर्थतन्त्र चलायमान हुने विज्ञहरुको धारणा छ । लगानीका क्षेत्रहरु चलायमान हुने वित्तिकै आयात नियात व्यापार पनि बढ्न जाने र समग्र अर्थतन्त्र उकालो लाग्ने अवस्था सिर्जना हुने बताइएको छ ।
एमालेले नै मुख्य साझेदार रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गर्नुभएको अघिल्लो सरकारले बजेट ल्याउदा आफूहरुसंग सल्लाह नै नगरेकोले बजेट जनमुखी,उत्पादनमुखी र देशले मागे वा सोचे अनुकूल आउनु नसकेको गुनासो गर्दै आउनुभएका नेकपा एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्रीले आफ्नो सरकारले लिने आर्थिक तथा विकास नीतिका बारेमा पनि आज बताउनु हुने अपेक्षा गरिएको छ, जुन कुरामा बजेटमा छुटेका पनि हुन सक्छन् ।